
महेश कुमार दास,जलेश्वर- पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण गर्दै महोत्तरीका अधिकांश पालिका प्रमुखले लोकप्रिय निर्णय सार्वजनिक गर्न थालेका छन् । प्रमुखको हैसियतमा महोत्तरीको विभिन्न पालिका प्रमुखले लोकप्रिय निर्णय गरेर सार्वजनिक गरेका छन् । यसै क्रममा महोत्तरीको प्रमुख व्यापारी केन्द्र तथा पुरानो बजार गौशाला नगरपालिकामा लाग्ने साप्ताहिक हटियामा तोकिएकोभन्दा बढी बट्टी (रकम) लिनेलाई कारबाही गरिने निर्णय गरिएको छ ।
नगरप्रमुख डा. दिपेन्द्र महतोले पदभार ग्रहण गरे लगतै बजारमा आउने किसान, उपभोक्ता र व्यवसायीसँग ठेकेदारले तोकिएकोभन्दा बढि रकम नलिन ठेकेदारलाई सचेत गराउँदै बढी रकम लिएको पाइए कारबाही गर्ने निर्णय गर्नुभएको हो । बजारमा नगर प्रहरी परिचालन गरेर सो कार्यको अनुगमनलाई निरन्तरता दिइने नगरप्रमुख महतोले बताउनुभएको छ । यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका प्रमुख रामदुलार साहले नगरवासीको लागि एम्बुलेन्स सुविधा नि:शुल्क गर्ने लोकप्रिय निर्णय सार्वजनिक गर्नुभएको छ ।
प्रमुख साहले सार्वजनिक सूचना प्रकाशित गरेर रामगोपालपुर नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण नगरवासीलाई एम्बुलेन्स प्रवाह हुने सेवा (मधेश प्रदेश क्षेत्रभरिको लागि) नि:शुल्क गरिएको जानकारी दिनुभएको छ । त्यसैगरी मटिहानी नगरपालिकामा दोस्रो कार्यकालका लागि प्रमुखको पदभार ग्रहण गर्नुहुँदै नगरप्रमुख हरिप्रसाद मण्डलले वारुण यन्त्र खरिद गर्ने र कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने लोकप्रिय निर्णय गर्नुभएको छ । बुधबार दोस्रो कार्यकालको जिम्मेवारी लिँदै प्रमुख मण्डलले उक्त दुईवटा निर्णयमा हस्ताक्षर गरी स्वीकृत गर्नुभएको हो ।
यस्तै दोस्रो पटक महोत्तरीको भङ्गहा नगरपालिकाको प्रमुख भएका सञ्जीव साहले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन नि:शुल्क बनाउने पहिलो लोकप्रिय निर्णय गर्नुभएको छ । माध्यमिक तह कक्षा १० सम्मको शिक्षा नि:शुल्क रहेकोमा अब सामुदायिक विद्यालयमा ११ र १२ कक्षासम्म नि:शुल्क पठनपाठनको व्यवस्था मिलाइने नगरप्रमुख साहले बताउनुभएको छ ।
निजी विद्यालयबाट नेपाल सरकारको कानूूनबमोजिम गरिब दलित तथा जेहेन्दार १० प्रतिशत विद्यार्थीलाई प्राप्त हुने नि:शुल्क पठनपाठनको व्यवस्था नगरपालिकासमेतको समन्वय र सिफारिसमा गराइने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच अभिवृद्धि गर्नका लागि १० शøयाको आधारभूत अस्पताल सङ्घीय सरकारसँगको समन्वय र नगरपालिकाको पहलमा स्थापना गर्ने र भङ्गहा नगर कार्यपालिकाको प्रशासकीय भवन सङ्घीय सरकारसमेतको साझेदारी र सहयोगमा निर्माण गरिने निर्णय भएको जनाइएको छ । सबै वडा कार्यालय र स्वास्थ्य चौकीहरूलाई नागरिकमैत्री सेवा प्रवाह अनुकुल हुने गरी व्यवस्थापन गरिने, सिँचाइ सुविधा नपुगेका खेती योग्य जमिनमा वैकल्पिक विधि अपनाइ बाह्ै महिना सिञ्चित हुने व्यवस्था मिलाइने नगरप्रमुख साहले बताउनुभएको छ ।
त्यस्तै औरही नगरपालिका प्रमुख प्रदीपकुमार खडकाले नगरपालिकाभरिका गर्भवती महिलालाई मधेश प्रदेशभरि नि:शुल्क एम्बुलेन्स सुविधा दिने र सबै वडामा सात दिनभित्र मल खादको व्यवस्था गर्ने पहिलो निर्णय गर्नुभएको छ । सोनमा गाउँपालिका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले तीनवटा सेवा नि:शुल्क गर्ने लोकप्रिय निर्णय गर्नुभएको छ । गाउँपालिकाका दीर्घ रोगी तथा गर्भवती महिलालाई मधेश प्रदेशमा नि:शुल्क एम्बुलेन्स सेवा दिइने, किसानका लागि नि:शुल्क सिँचाइ कार्यक्रमअन्तर्गत विद्युत् सुविधा नि:शुल्क उपलब्ध गराउने र जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता नि:शुल्क गर्ने निर्णय गरेको सोनमा गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
त्यस्तै बर्दिबास नगरपालिकामा स्वतन्त्रबाट निर्वाचित भएर पदभार ग्रहण गर्नु भएका प्रल्हादकुुमार क्षेत्रीले निवर्तमान प्रमुख चढने सवारी साधन एम्बुलेन्सको रूपमा प्रयोग गर्ने, सुत्केरी भत्ता नगरको तर्फबाट दिइने र गरिब, विपन्नका लागि नि:शुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ । उहाँ निर्वाचित हुनु अगावै जितेपछि नगरपालिकाबाट कुनै सवारी सुविधा नलिने घोषणा गर्नुभएको थियो । सोही घोषणालाई निरन्तरता दिनुहुँदै उहाँले निवर्तमान नगरप्रमुखले प्रयोग गरेको सवारी साधन एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गर्नुभएको हो । यसैगरी गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँच गरी आमा बच्चा दुवैको स्वास्थ्य सुरक्षामा प्रभावकारिता ल्याउने उद्देश्यले नेपाल सरकारबाट हिमाली, पहाडी र तराईका जिल्लामा बसोबास गर्ने नागरिकलाई क्रमश: यातायात खर्च वापत तीन हजार, दुई हजार, र एक हजार उपलब्ध गराउँदै आएकोमा बर्दिबास नगरपालिकाभित्रका आमा बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राख्दै अझै प्रभावकारी बनाउन नगरपालिकाबाट थप एक हजार उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख क्षेत्रीले बताउनुभएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा प्रसूति गराउन नसकी थप उपचारका लागि अन्यत्र पठाउनु पर्नेभएमा रेफर गरिएको स्वास्थ्य संस्थासम्म जानका लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र वडाबाट सिफारिस भई आएको गरिब र विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउने निर्णय गरिएको उहाँले बताउनुभएको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका रहेकोमा पालिका प्रमुख बनेका अधिकांशले आफ्ना चुनावी प्रमुख प्रतिबद्धतालाई लोकप्रिय निर्णयका रूपमा सार्वजनिक गर्न थालेका हुन् । जिल्लाका केही पालिका प्रमुखले पहिलो लोकप्रिय निर्णय सार्वजनिक गरिसकेका छन् भने केही पालिका प्रमुख एक/दुई दिनभित्रै पहिलो लोकप्रिय निर्णय सार्वजनिक गर्ने योजना बनाइरहेको छ।स्रोत : गोरखापत्र