जनकपुरधाम । मधेश प्रदेशमा उत्पन्न दङ्गाजन्य परिस्थितिका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको परीक्षा पुनः सञ्चालन हुने भएको छ ।
त्रिवि डीनको कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार साउन १५ गतेका लागि निर्धारित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रअन्तर्गत बजार व्यवस्थापन (मार्केटिङ म्यानेजमेन्ट) विषयको स्थगित परीक्षा भदौ १५ गते बिहान ११ः३० बजे सञ्चालन गरिने भएको हो ।



मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न भएको दङ्गाजन्य परिस्थितिका कारण केही परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सञ्चालन गर्न नसकिएपछि उक्त विषयको परीक्षा स्थगित गरिएको थियो । डीनको कार्यालयले अब परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रमै सञ्चालन गर्ने जनाएको छ ।
परीक्षाका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा ११ वटा परीक्षा केन्द्र तोकिएका छन् । धनुषाको जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालन हुनेछ । सर्लाहीमा सर्लाही क्याम्पस मलङ्गवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीलाई परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी सिरहामा सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा परीक्षा सञ्चालन हुनेछ । सप्तरीमा महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस राजविराज र नेसनल पिपुल कलेज कञ्चनपुर परीक्षा केन्द्र तोकिएका छन् ।
रौतहटमा जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर र गौरीशङ्कर यादव रौतहट क्याम्पस गौर, बारामा सिमरा कलेज तथा पर्सामा ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जलाई परीक्षा केन्द्र निर्धारण गरिएको त्रिविले जनाएको छ ।
डीनको कार्यालयले स्थगित परीक्षा पुनः सञ्चालनका लागि आवश्यक तयारी पूरा गर्न सम्बन्धित परीक्षा केन्द्रलाई निर्देशन दिएको छ । साथै परीक्षार्थीलाई तोकिएको मिति, समय र परीक्षा केन्द्रबारे यकिन गरी परीक्षा सञ्चालन हुने दिन अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्रिविले परीक्षार्थीलाई परीक्षा केन्द्र परिवर्तन नभएको जानकारी दिँदै यसअघि तोकिएको सम्बन्धित परीक्षा केन्द्रमै उपस्थित हुनसमेत अनुरोध गरेको छ । परीक्षासम्बन्धी थप जानकारी आवश्यक परेमा सम्बन्धित क्याम्पस तथा डीनको कार्यालयसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।





