महोत्तरी - अवैधानिकरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरूले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन ।
महोत्तरीको बर्दिबास नगरपालिका स्थित निर्माणाधीन रेल्वे स्टेसनमा बुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन ।
ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, ना १ क ७०६७, ना १ क ९५११ नम्बर प्लेटका टिपरहरुलाई रोकेर कागजपत्र माग्दा देखाउन नसकेपछि नियन्त्रणमा लिएर जिम्मा लगाएको स्थानीय निरज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका टिपरहरुको विषयमा अनुसन्धान भइरहेको इलाका प्रशासन कार्यालय बर्दिबासले जनाएको छ । 'टिपरहरुको कागजपत्र नभएको र मापदण्डकाबारे ओसारपसार गरिरहेको पाइएको छ ।' इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमन पोखरेलले भने । 'आज छुट्टी भएको हुनाले नगरपालिकालाई जिम्मा लगाउन पाइएन ।'
उक्त नदीजन्य पदार्थ कहाँबाट उत्खनन् गरिएको भन्ने समेत खुल्न सकेको छैन । पछिल्लो समय नगर क्षेत्रमा अवैधानिक उत्खनन् भइरहेको वेला रेल्वेले समेत सोत नै पहिचान नगरी माल खरिद गर्नु गलत भएको भन्दै स्थानीयहरूले विरोध गरेका छन ।
स्रोत पहिचान विना नदीजन्य पदार्थ विक्री वितरण गर्न नपाईने व्यवस्था छ तर क्रसर व्यवसायीहरूले समेत स्टक प्रमाणीकरण नगरी निर्माणाधीन रेल्वे स्टेसनमा बेचिरहेको पाइएको छ । राजस्व छली गरेर खुलेआम नदीजन्य पदार्थ विक्रिवितरण हुँदा पनि सरोकारवालाहरू मौन रहेको भन्दै स्थानीयहरूले खबरदारी गरेका हुन ।
पछिल्लो दुई दिनमा मात्र ७ वटा मालवाहक टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।