
मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ ।
एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बीच यस्तो सहमति भएको हो ।
ओली र प्रधानमन्त्री प्रचण्डसँगको शुक्रबार भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केन्द्रीय सत्ता गठबन्धनलाई नै समर्थन गर्ने संकेत दिएपछि जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने बाटोमा राजनीतिक कोर्ष अघि बढेको हो ।
जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएका छन् । एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेका नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली जनमतलाई संघीय सरकारमा सहभागी गराउने उद्देश्यसहित मधेशमा जनमतलाई दिन तयार भएको नेताहरूको भनाइ छ । जसपा नेपाल (अध्यक्ष उपेन्द्र यादव) सरकारबाट बाहिरिएपछि विकल्पमा जनमतलाई अघि सार्ने तयारी एमाले र माओवादीको छ ।
जनमतका अध्यक्ष सीके राउतको नेतृत्वमा शुक्रबार एमाले अध्यक्ष ओलीसँग मधेश सरकारबारे छलफल गरेको थियो । छलफलमा ओलीले जनमतको नेतृत्वमा सरकार बनाउन सकारात्मक संकेत दिएको महासचिव चन्दन सिंहले बताए ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ मा विश्वासको मत लिने प्रदेशसभाको तालिका छ । त्यसअघिकै बहुमतसहित जनमतको सरकार बन्ने सिंहको भनाइ छ ।