
जनकपुरधाम - मधेश प्रदेश नेकपा(एमाले) संसदीय दलका नेता समेत रहेका नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले शुक्रवार पदभार ग्रहण गर्दै स–साना भन्दा पनि गौरवको आयोजना केन्द्रित कार्यक्रम तर्फ अग्रसरता देखाएका छन् ।
सपथ ग्रहण पछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले मधेशको हरेक निर्वाचन क्षेत्रमा एक पक्की पुल निर्माण गर्ने मधेश विकासको गौरव योजना सञ्चालनको पहिलो निर्णय गरेका छन् ।

स–साना आयोजना भन्दा मधेशमा केहि महत्वकांक्षी राम्रा आयोजना ल्याएर काम गरे मात्र जनताले अनुभुति गर्ने किशिमको विकास सम्भव हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको मन्त्री यादवले बताए ।
साथै मन्त्री यादवले मन्त्रालय मातहतका सचिव लगायत सबै कर्मचारीहरुलाई विकास निर्माणको कामलाई द्रुत गतिमा सञ्चालन गर्न तथा आगामी आर्थिक वर्षको कार्यक्रममा जनतालाई प्रत्यक्ष लाभ पुग्ने ठोस कार्यक्रम प्रस्ताव गर्न निर्देशन समेत दिएका छन् । मधेश सरकारमा पार्टीको नेतृत्व समेत गरिरहेका एमालेका युवा नेता यादव यस अघि पनि सोहि मन्त्रालयमा मन्त्री थिए ।