बर्दिबास- बर्दिबास नगरपालिकाको आर्थिक वर्ष ०८१-८२ को लागि ‘समग्र विकास समृद्ध नगर’ को अवधारणा सहित नीति तथा कार्यक्रम पारित गरेको छ।
नगरको सर्वाङ्गीण विकासका लागि १२ बुँदे अभियानलाई प्राथमिकतामा राखेर नगर प्रमुख प्रह्लाद क्षेत्रीले १४ औँ नगर सभामा सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम ध्वनीमतले सर्वम्मत पारित गरिएको हो ।
नीति तथा कार्यक्रम ले सुलभ र स्तरीय स्वास्थ्य सेवा, विपन्न समुदायलाई बिमा सुविधा, गुणात्मक र जीवनोपयोगी शिक्षा, कृषि तथा सिँचाइ, स्वच्छ खानेपानी पूर्वाधार निर्माण, सञ्चार प्रविधिको उपयोग, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, पर्यटन प्रवर्द्धन, दुर्व्यसन नियन्त्रण, आन्तरिक आय वृद्धि जस्ता आधारभूत विषयलाई समेटेको छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य उपकरणको भरपुर उपयोग गर्दै विशेषज्ञ चिकित्सकहरूद्वारा २४ घण्टै सेवा दिने गरी नमुना अस्पतालको रूपमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।
मुलुक मै पहिलोपटक मुसहर बस्तीबाट सुरु गरिएको स्वास्थ्य बिमालाई निरन्तरता दिँदै नगर क्षेत्रका लोपोन्मुख, सीमान्तकृत र दलित समुदायलाई समेत समेटिने कार्यक्रम अघि सारिएको छ । विपन्नलाई निःशुल्क स्वास्थ्योपचार, आमा सुरक्षा कार्यक्रम, स्तन र पाठेघर क्यान्सरको उपचार, वडास्तरमा एम्बुलेन्स सेवा र प्रभावकारी ढङ्गमा निःशुल्क औषधी वितरणलाई प्राथमिकतामा राखिएको छ ।



गुणात्मक शिक्षाका लागि १४ वटै वडामा नमुना विद्यालय सञ्चालन र विद्यालयको पूर्वाधार विकाशमा जोड दिइएको छ भने खेलकुदको विकासका लागि प्रत्येक वडामा एक खेल मैदानको अवधारणा अघि सारिएको छ। बर्दिबासलाई फलफूल तथा तरकारी खेतीमा आत्मनिर्भर बनाइ वडा नं ३ गौरीडाँडामा व्यवस्थित फलफूल तथा तरकारी बजारको व्यवस्था गरिने उल्लेख छ।
बर्दिबास जिल्लाकै सुख्खाग्रस्त नगरपालिका भएकोले सुनकोशी मरिन डाइभर्सनको पानीलाई उपयोग गर्दै खानेपानी र सिचाई समस्यालाई दीर्घकालीन रूपले समाधान गर्न सङ्घीय सरकारसँग सहयोगको पहल गरिने कार्यक्रम छ । आर्थिक मेरुदण्ड मानिएका पर्यटन र पूर्वाधार विकाशलाई विशेष प्राथमिकतामा राखिएको छ।
नगरपालिकाको अति दुर्गम मानिने चेरु, खयरमारा सिन्धुली सडक निर्माण कार्यलाई प्राथमिकतामा राखी राष्ट्रिय यातायात सञ्जालमा जोडने कार्यलाई पनि विशेष पहल र प्रयास गरिने जनाइएको छ । बर्दिबास नगरपालिकाले लोपोन्मुख जातीहरूको भाषा, कला र संस्कृतिको विकाश र संरक्षणलाई पहिलोपटक नीति तथा कार्यक्रममा समेटेको छ ।
नीति तथा कार्यक्रम नगरपालिकाको ‘भाग्य रेखा’ भएको धारणा राख्दै क्षेत्रीले नगर सरकारले दिगो विकाशलाई प्राथमिकतामा राखी बर्दिबासलाई प्रदेशकै नमुना सहर बनाउने लक्ष्य लिएको बताए। “आगामी आर्थिक वर्ष (०८१-८२) लाई युगान्तकारी बनाउने लक्ष्य साथ यो नीति तथा कार्यक्रम ल्याएका छौँ,” नगर प्रमुख क्षेत्रीले भने , “यसको सफल कार्यान्वयनमा सहयोग र समन्वयका लागि सवैसँग आग्रह गर्दछु ।”
यसअघि मधेश प्रदेशका अर्थ मन्त्री भरतप्रसाद साह, शिक्षा तथा संस्कृति राज्य मन्त्री शारदादेवी थापा पानसमा बत्ती बालेर नगर सभाको उद्घाटन गर्दै बर्दिबास नगरको विकासमा सहयोग र सहकार्यको प्रतिबद्धता प्रकट गर्नुभयो ।




