
सर्लाही– बाढीले दायाँबायाँको सडक कटान गरेपछि सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दी र ईश्वरपुर नगरपालिका ८ रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जोखिममा परेको छ ।
निरन्तरको वर्षापछि खोलामा आएको बाढीले पुलमा बारम्बार क्षति पुर्याइरहेको लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए । उनका अनुसार पुलको जब्दी र रामपुर दुवैतर्फको भागमा सडक बगाएर ठूलो भ्वाङ परेको छ ।
थोरै मात्र बाँकी रहेको सडकबाट जोखिमपूर्ण किसिमले सवारी साधन वारपार गरिरहेका वडाध्यक्ष चौधरीले बताए । दुई वर्षअघि नै निर्माण पूरा भएको यो पुल ठेकेदारबाट अझै हस्तान्तरण भएको छैन् ।
सडक दायाँबायाँ दुवैतर्फको सडक समेत कालोपत्रे गर्ने भनिए पनि माटो र गिट्टी हुरेर कच्ची सडक बनाएर ठेकेदार नै फरार भएका वडाध्यक्ष चौधरीले बताए । पुलमा दुवैतर्फ ठूलो खाडल बन्दा सवारी दुर्घटनाको समेत जोखिम बढेको छ ।
पुलको अवस्था दयनीय बनेकोबारे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा लिखितरुपमै जानकारी गराइसकिएको लालबन्दी नगरपालिकाले जनाएको छ । मंगलबार मात्रै सडक डिभिजनको टोली आएर कटान भएको पुलको निरीक्षण गरेर फर्किएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
फूलजोर खोलामा पक्की पुल निर्माण भएपछि बाढीमा हेलिएर वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएपछि खुसी भएका स्थानीय अहिले पुलको दुवैतर्फको भाग कटान गरेर जोखिममा परेपछि निराश बनेका छन् । ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापाले निकै सङ्घर्ष गरेर निर्माण गरिएको पुल कटानको चपेटामा परेपछि चिन्ता थपिएको बताए ।
निर्माणाधीन अवस्थामै खोलाले बगाउने, ठेकेदार बारम्बार बेपत्ता हुने जस्ता समस्या झेलेर जसोतसो पुल निर्माणको काम पूरा गराए पनि अहिले बाढीले पुनः पुलको दुवैतर्फ कटान गरेपछि चिन्ता लागेको वडाध्यक्ष थापाले बताए ।
उनले पुलमा बारम्बार कटान गरिरहेको तर ठेकेदार नै सम्पर्कमा नआउँदा आफूहरु समेत अन्यौलतमा परेको बताए ।