
जनकपुरधाम- नेपाली काँग्रेस आज देखि औपचारिक रुपमा मधेश प्रदेश सरकारमा सहभागी हुने सहमति भएको छ ।
आज बिहान नेपाली काँग्रेस प्रदेश संसदीय दलको बैठकबाट अर्थ मन्त्रालय काँग्रेसले नपाएको खण्डमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत मुख्यमन्त्रीले पाएपछि अर्थ मन्त्रालय दिनका लागि सहमत भएको र आजै मन्त्रीपरिषद् विस्तार हुने गरि मुख्यमन्त्रीसँग सहमति भएको नेपाली काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले नेपाली काँग्रेसलाई अर्थ मन्त्रालय सहित ४ वटा मन्त्रालय दिनका लागि मुख्यमन्त्री सतिश कुमार सिंह सहमत भएपछि आज साँझसम्ममा मन्त्री परिषद् विस्तार हुन लागेको जानकारी दिए।
मधेश प्रदेश सरकार गठन भएको करिब डेढ महिनापछि प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुन लागेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जेठ २५ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस सहितको साना दलहरूको समर्थनमा मुख्यमन्त्रीले शपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री सिंहलाई केन्द्रमा पछिल्लो पटक काँग्रेस तथा नेकपा एमालेका बीचमा भएको सहमति अनुसार नेपाली काँग्रेसले मधेश प्रदेशमा अर्थ सहित ४ मन्त्रालय पाउने शर्तमा असार २२ गते विश्वासको मत दिएका थिए । यसै बीच आज साँझ पाँच बजे काँग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीहरूको शपथग्रहणको तयारी भइरहेको छ ।