
केन्द्रीय सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा उत्पन्न भएको विवाद साम्य भएको छ । सत्ता भागवण्डा अन्तर्गत जनमत पार्टीले आफ्नो हठ नत्याग्दा लामो समयको कलहपछि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासका मत लिनका लागि गरेका भद्र सहमतिबमोजिम कांग्रेससंग कार्यान्वयन नगर्दा कलह उत्पन्न भएको थियो । लामो समयको छलफललाई समेत बेवास्ता गर्दा प्रदेशको सत्ता समीकरणमै संकट उत्पन्न हुने अवस्था अन्तिम चरणमा पुगेपछि जनमत पार्टीले आफ्नो सत्ता जोगाउन हठ त्यागेपछि मन्त्रिमण्डलले पूर्णता पाएको छ ।
यस अघि कलहकै क्रममा मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय नदिएपछि काँग्रेस आफ्नै नेतृत्वमा नयाँ सरकारमा बनाउनका लागि तयारी थालिसकेको थियो । काँग्रेसले नयाँ सरकार गठनका लागि नेकपा एमाले र लोसपासँग छलफल समेत गरिरहेको थियो । तर बिहीबार कांग्रेस र लोसपा सिंह नेतृत्वको सरकारमा सहभागी भएका छन् ।
मुख्यमन्त्री सिंहले आफ्नो हठ त्याग्दै विश्वासको मत लिन अघि गरेको भद्र सहमति कार्यान्वयन गर्न तत्परता देखाएसंगै कांग्रेसलाई अर्थ सहित चार वटा मन्त्रालय दिएपछि सरकारमा सहभागी भएको छ । जनमतले हठ त्यागेपछि नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमार कान्त झाले बताए । यससंगै कांग्रेससंगै लोसपा पनि सरकारमा सहभागी भएको छ ।