
महोत्तरी- मटिहानी नगरपालिका स्थित लक्ष्मी सागरमा शनिवार लक्ष्मी नारायण भगवानको साप्ताहिक संध्या आरतीको चौथो वार्षिकोत्सव मनाईदैछ । वार्षिकोत्सव मनाउन मटिहानी नगरपालिकाको अगुवाईमा सरसफाई तथा साजसज्जाको काम अन्तिम चरणमा छ ।

नगरप्रमुख हरिप्रसाद मण्डलको अगुवाईमा नगरपालिकाका कर्मचारीसंगै स्थानिय युवाहरु लक्ष्मी सागर(पोखरी) र आरती स्थल,लक्ष्मी नारायण मठ,पिर बाबा मजार समेतको सरसफाईमा शुक्रवार व्यस्त देखिए । यो व्यवस्ता भने यहि आयोजनाको लागि नभई लक्ष्मी सागरमा हुने गरेको साप्ताहिक आरती र विशेष पुजाआजाको अवसरमा नियमित रुपमा देखिने गरिएको छ ।

झट्ट सुन्दा यो सामान्य कुरा भएपनि मटिहानी निवासी हिन्दु र मुस्लिम दुवै समुदायका युवाहरुले यसलाई विशेष बनाईदिएका छन । उनीहरु मटिहानी स्थित दुवै धर्मका स्थलहरुमा सामुहिक सरसफाई गर्दै धार्मिक सहिष्णुताको अनुकरणिय उदाहरण प्रस्तुत गर्दैछन ।

मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डल भन्छन,“हाम्रो मटिहानीमा हिन्दु वा मुस्लिम जुनसुकै धर्मको धार्मिक कार्य हुदा दुवै धर्मका युवाहरु एकअर्काको सहयोगमा तत्पर रहन्छन । यहा हिन्दु वा मुस्लिम जुनसुकै धर्मको अनुष्ठान कसरी सफल हुने भन्ने ध्येयमात्र युवाको हुन्छ । म हिन्दु छु म कसरी मजारमा गएर सरसफाई गरु वा म मुस्लिम छु म कसरी साप्ताहिक आरती स्थलमा गएर सरसफाईमा सहभागि होउ भन्ने माहौल छैन । ”

उनी थप्छन,“हरेक वर्ष हुने दुर्गा विसर्जनमा मटिहानीका सवै नागरिक माता दुर्गाको प्रतिमा नगरपरिक्रमा गर्दा नतमस्तक हुन्छन । मटिहानीमा मुस्लिम परिवारले दुर्गा विसर्जनको बेला आफ्नो आँगन अगाडी प्रतिमाको स्वागत गर्छन । हामी पिर बाबा र तस्मैया बाबाको समय देखि सवै नगरवासी एउटै परिवार छौ ।”

मटिहानी नगरपालिकामा कर्मचारी समेत रहेका मोहम्मद इसराफिल राईन भन्छन, “मैले मटिहानीमा धर्मकै कारण लडाई देखेको छैन । यहाका सवै धार्मिक तथा सामाजिक कार्यमा हामी सवै युवाको समान सहभागिता हुन्छ । हामी होली,दिवाली देखि दुर्गा पुजामा समेत खटिने गरेका छौ । अझै यहा कुनै धार्मिक उत्सव हुदा उक्त उत्सवको लागि सोहि धर्मका मानिसले चन्दा दिने भन्ने छैन । यहा सवै चन्दामा सहभागि हुन्छन । ”
त्यसतै नेपालकै जेठो गुरुकुल श्री राजकिय संस्कृत मा.वि. मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेल भन्छन,“मटिहानी शिक्षाको दृष्टीकोणले समेत उदाहरणिय छ । यहा गुरुकुलमा हिन्दु कर्मकाण्ड अध्ययन गर्ने मुस्लिम छात्रहरु पनि छन । मास्टर्स(आचार्य) सम्मको अध्ययन हुने यस विद्यालयमा हिन्दुसंगै मुस्लिम समुदायका छात्रहरु समेत अध्ययन गर्छन । ” उनी थप्छन,“ मटिहानी आफैमा धार्मिक सहिष्णुताको प्रतिक हो । यहा व्यक्तिको विश्लेषण उसले आर्जन गरेको र जिवनमा लागु गरेको ज्ञानले हुन्छ । ”
सुफी संत पीर बाबा(मुस्लिम) ले मटिहानी आएका तस्मईया बाबा,जगदीशनाथ बाबा सहित तिन साधुलाई सोहि बेला मार्ग निर्देशन गर्दै तस्मईया बाबालाई मटिहानीमै बिराजमान हुन भनेका थिए । सोहि बेला देखि पिर बाबा र तस्मईया बाबाको मित्रताको उदाहरण दिईन्छ । दुईजनाको मित्रताले नै मटिहानीमा धार्मिक सहिष्णुताको जग बसालेको थियो ।