धनुषा । धनुषास्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिका–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले सोही ठाउँका १७ वर्षिय राजेश यादव, ४० वर्षिय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको बताउनुभयो । उहाँहरु बुधबार बिहान दाउरा सङ्कलन गर्न गएको अवस्था एक्कासी बाढीको बहाव बढेपछि नदीमा फसेको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुर र सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरीको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाइले बताउनुभयो । उद्धार कार्यमा सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले सहयोग गर्नुभएको थियो ।