
महोत्तरी - वर्तमान सरकारलाई राजनीतिक अस्थिरता ल्याउने छुट नभएको कांग्रेस नेता श्याम घिमिरेले बताएका छन् ।नेपाल प्रेस युनियन महोत्तरीले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले ठूला दल नमिल्दासम्म राजनीतिक स्थिरता भएन भनेर मिलेका दुई ठूला दलको सत्ता समीकरण अब बदलिने स्थिति नरहेको बताए ।

अहिलेको सरकार बनेसँगै बलियो सरकार भनेर जनतामा आशासँगै विश्वास पैदा भएको उनले दाबी गरे ।
राजनीतिक स्थिरता, आर्थिक समृद्धि, पराराष्ट्र नीति र कूटनीति, संविधान संशोधन लगायतका महत्त्वपूर्ण कामका लागि यो सरकार बनेको घिमिरेले बताए ।

संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर संविधानका कुन-कुन बुँदामा संशोधन आवश्यक छ भन्ने गृहकार्य पछि संशोधन गरिने नेता घिमिरेले बताए ।

लोकतन्त्रको आधार संचारजगत भएकाले संचार ऎन र आर्थिक समृद्धिका लागि मौद्रिक नीति छिट्टै सरकारले ल्याउने उनले बताए । सरकार बनेको केही समयमै नेप्से परिसूचक ह्वात्तै बढेको भन्दै घिमिरेले अहिलेको सरकार दरिलो बनेको भन्दै सबै क्षेत्रमा भरोसा पलाएको उनले दाबी गरे ।