
महोत्तरी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब साहु महाजनबाट कर्जा लिएर वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य हुने बेला आइसकेको छ ।
महोत्तरीको वर्दिवासमा शनिवार आयोजित मधेस प्रदेशमा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमको आव २०८०/०८१ को वार्षिक समिक्षा गोष्ठिमा सम्बोधन गर्दै श्रम मन्त्री भण्डारीले सरकारले ल्याएको मौद्रिक नीतिअनुसार बिनाधितो ऋण दिने प्रक्रिया अगाडि बढि सकेकोले वैदेशिक रोजगारीमा जानेलाई धितो बिना ऋण दिने प्रक्रिया अगाडि बढाइएको बताए ।
उनले भने, 'गन्तव्य देशको लागत खर्च तोकेर बैंकबाट बिनाधितो ऋणको प्रक्रिया अगाडि बढाइएको हो । विदेशबाटै २ वर्षमा २४ किस्ता बुझाएर ऋण चुक्ता गर्ने व्यवस्था गरिएको छ ।’
उनले बैंकबाट सहज रुपमा ऋण पाउँदा लागत खर्च घट्ने र ठगीको घटनासमेत न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
उनले वैदेशिक रोजगारीमा जाने मधेसको संख्या उल्लेख्य भए पनि त्यो खाडी मुलुक र मलेसियामा सीमित रहेको भन्दै उनले आकर्षक रोजगारको अवसरमा सबैको पहुँच बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले सचेतना बढाउन जरुरी रहेको धारणा राखे ।
मन्त्री भण्डारीले रोजगारीको विकल्प वैदेशिक रोजगारी रहेको र वैदेशिक रोजगारी व्यवस्थित, सुरक्षित, आकर्षक र मर्यादित बनाउन मन्त्रालय सक्रिय रहेको बताए ।
उनले चेतना अभावमा नजानेर मधेशीहरु वैदेशिक रोजगारमा जाँदा ठगिने गरेको उल्लेख गरे । 'अन्य प्रदेशका नागरिक जानीजानी दलालमार्फत प्रतिबन्धित देशमा जान खोज्दा ठगिन्छ,' मन्त्री भण्डारीले भने,‘मधेशीहरु चेतना अभावमा ठगिएका छन् । विदेश जाँदा चेतना बढाएर जानुपर्छ ।’
अन्य देशभन्दा सुरक्षित, व्यवस्थित र राम्रो कमाई हुने दक्षिण कोरिया जानेहरुमध्ये मधेश प्रदेशबाट सबैभन्दा कम रहेको उनले बताए । उनले अब मधेस प्रदेशबाट भाषा, शीप सिकेर सुरक्षित र व्यवस्थित तबरले खाडी मुलुक बाहेक कोरिया लगायतका मुलुकहरुमा समेत रोजगारीको लागि जान सकिन्छ भनेर जनचेतना फैलाउनु पर्ने आवश्यक्ता रहेको बताए ।