
✍️ रन्जना पोखरेल(जनकपुर)
अहिले सबैतिर तिजको लहर र रौनक चौतर्फी देखिएको छ।धार्मिक मान्यता अनुसार सत्य युगमा माता पार्वतीले शिवलाई स्वामी पाउँ भनि भाद्र शुक्ल तृतियाका दिन निराहार ब्रत बसेको र उनको मनोकामना पुरा भएको विश्वासका आधारमा श्रीमानलाई शिवको प्रतिक मानि विवाहित नारीहरुले भाद्र शुक्ल तृतियाकै दिन श्रीमानको सु स्वास्थ्य,दिर्धायु र प्रगतीको कामना गर्दे ब्रत बस्ने र अविवाहित नारी (युवती) हरुले राम्रो पति पाउनका लागि शिवको पुजा,आराधना गरी ब्रत बस्ने चलन रहेको परम्परा छ ।
तिज पर्व खास गरी भाद्र शुक्ल द्धतियका दिनको दर खाने कार्यक्रमबाट शुरु हुन्छ । यस दिन माइतिले चेलिबेटिहरुलाई बोलाएर मीठा-मीठा परिकारहरु बनाएर दर खुवाउने परम्परा परापुर्व कालदेखि रहेको पाईन्छ ।
खास गरी निराहार ब्रत बस्ने चलन भएकाले तिजको दिन भोक नलागोस र ब्रतालुहरु कम्जोर नहोउन भन्नकालागी आ आफनो ठाउँ, संस्कृती अनुसार मिठा मिठा परिकार बनाएर रातीको १२ बजे अधि उठेर दर खाने चलन रहेको पाईन्छ ।
भाद्र शुक्ल तृतिया अर्थात तिजको दिन ब्रतालु नारीहरु आफुलाई पाईक पर्ने जलासयमा गई नुहाएर नजिकको शिवालयमा गई भगवान शिवको आराधना गर्नुका साथै नाचगान सहितको मनोरन्जन गर्ने गरेको पाईन्छ । धेरै दिन देखि भेटघाट नभएका आफन्त, नातागोता, इष्टमीत्र तथा साथी संगीहरुसंग भेटघाट हुने,दुख, सुखका कुराहरु साटासाट गर्ने आ आफनै मौलिकतामा रमाउने र मन हलुङ्घो बनाउने परम्परा भएतापनि आज भोली तिज पर्व मौलिक सांस्कृतीक परम्परा र रीतिरिवाज भन्दा अली फरक बन्दै गएको पाईन्छ ।
हुन त परम्परा देखि मान्दै आएका नेपालीहरूको प्रमुख चाड पर्वहरुमा तिज पनि अग्र पंक्तिमै पर्दछ। यसमा दुईमतको कुरै भएन ।
यी कुराहरु लेख्दै गर्दा म धर्म तथा संस्कृति विरोधी र प्रकृति विरोधि भने पकै हैन । हरेक राष्ट्रमा हरेक वर्गका नागरीकहरुको आ- आफनै संस्कृति तथा परम्परा हुन्छ । ति संस्कृतिहरुको जगेर्ना गर्नु ती नागरीकहरुको कर्तव्य हुन जान्छ ।
संस्कृतिको जगेर्ना गर्दे जादा त्यो संस्कृती परम्परा वा रितीरिवाजले हाम्रो समाज, परिवार र हामी (व्यक्ति) स्वयंलाई कति फाईदा पुर्याउदछ भन्ने कुरा बुझेर समय सापेक्ष परम्परालाई परिमार्जित गर्नु जरुरी छ । परिमार्जनकै नाममा देखासेखि, तडकभडक, र लहैलहैले गर्दा भड्किलो र खर्चिलो बनेको हाम्रो तिज हुने खानेहरुले महिनौं अगाडि देखि पार्टिप्यालेश, स्टारबाला महंगा होटल बुक, सारि सेट, गहना जस्ता कुराहरुमा पैसा खर्चेको देखिन्छ भने, हुदा खानेहरुकोलागी तिजको अधिल्लो दिनको एक छाक दर खान कैयौं संधर्ष गरेर पनि तड्पिनु परेको अवस्था छ ।
आधा आकाश ढाकिएका महिलालाई घर भित्र मात्र सिमित राखिनु हुदैन ।आ-आफनो तरिकाले रमाउने स्वतन्त्रता सबै नागरिकको नैसर्गीक अधिकार हो । अधिकारको कुरा गरीरहदा राष्ट्रलाई सबल बनाउन असल नागरिकले अधिकार संग संगै आफनो कर्तव्य पनि भुल्न हुदैन ।
अधिकार र कर्तव्य भनेको एउटा पाटाका दुईटा सिक्का हुन त्यसैले, मेरो अधिकारको सदुपयोग गरीरहँदा एउटा सचेत नागरिकको हैसियतले मेरो कर्तव्य के हो त ? भनेर एक पटक हामि सबैले सोच्नु आवश्यक छ ।
नेपालमा दर का नाउमा आजभोलीको परिवर्तन, बजारमा देखिएको अस्वाभाविक मनोरन्जन, सामाजीक संजालहरुमा देखिने तडक भडकले हाम्रो संस्कृतीको संरक्षण गर्ला त ! भोलीका पुस्ताहरुमा के सन्देश जाला र हामिले के सिककाउँदै छौं एक पटक सोचौं । हामीले अबका दिनमा छोरी, बुहारीहरुबाट तिजमा कस्तो संस्कृतिको निरन्तरताको अपेक्षा राखेका छौ ? सबैले आ-आफनो ठाउँमा रहेर मनन गर्नु आवश्यक देखिन्छ ।