
महोत्तरी - महोत्तरीमा बाघ देखिएको हल्ला पुष्टि नभएको जिल्ला वन कार्यालयले जनाएको छ । वलवा नगरपालिका र लोहारपट्टी नगरपालिकाको मध्यमा पर्ने रौजा मजार नजिकैको रातु नदीको वांध क्षेत्रभित्र बाघ देखिएको हल्लापछि जिल्ला वन कार्यालय महोत्तरीले सो को सोधिखोजि गरेपछि बाघ नै भएको कुरा कही कतैबाट पुष्टि नभएको जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख डिभिजनल वन अधिकृत अजय कुमार मिश्रले बताएका छन ।
उनले विहानै विभिन्न ठाँउबाट बाघ देखिएको जिज्ञासा आएपछि वन कार्यालयको टोली बाघ देखिएको सम्भावित क्षेत्रमा गई सोधपुछ गर्दा देखिएको जन्तु बाघ नै भएको कुनै प्रमाणित आधार नभएको बताए । प्रमुख मिश्रले स्थलगत तथ्यको आधारमा देखिएको जन्तु हुडार हुन सक्ने बताएका छन । तथापी उनले खोजि जारी रहेको बताए ।
यता मिथिला वाईल्ड लाईफ ट्रसटका संस्थापक तथा वन्यजन्तु विज्ञ देव नारायण मण्डलले महोत्तरी क्षेत्रमा पछिल्लो केहि वर्ष यता बाघ देखिएको कुनै घटना नभएको बताउदै हुडारलाई नै देखेर बाघ भएको हल्ला फैलिएको हुन सक्ने बताए । उनले हुडारको जिउमा समेत बाघकै जस्तो कालो धर्सा हुने भएकोले टाढाबाट हेर्दा स्थानियहरुले हुडारलाई नै बाघ सम्झेको हुन सक्ने बताए । तथापी वर्तमान समयमा वन जङगल मासिरहेकोमा खानाकै खोजिमा बाघ र चितुवा जस्ता जङगली जनावर मानव वस्तीमा पस्न सक्ने सम्भावनालाई नकार्न नसकिने बताए ।
महोत्तरीमा बाघ देखिएको भन्दै हल्ला फैलिए पनि स्थानिय जनप्रतिनिधि र प्रहरीबाट समेत यसको यसको पष्टि गरिएको छैन ।