
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुर–जयनगर रेल्वेको घाटा कम गर्ने गरि आवश्यक विभिन्न पूर्वाधार निर्माण तथा मालवाहक रेल (कार्गो रेल) सञ्चालनको तयारीमा सरकार रहेको बताउनु भएको छ ।
जनकपुर रेल र कमला पुलको स्थलगत अनुगमन गर्न प्राविधिक सहित धनुषा आउनु भएकाे यातायातमन्त्री दाहालले जनकपुर–जयनगर रेलको अवस्थाको बारेमा महोत्तरीको बर्दिबास, धनुषा जिल्लाको कुर्था रेल्वे स्टेशनको स्थलगत अनुगमन गरेपछि जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा रेल्वे वास गर्ने सेन्टर (रेल धुने स्थल) को निर्माण गर्ने काम अन्तिम चरणमा भएकाले वास यही भएपछि भारत पठाउनु पर्ने बाध्यताको अन्त्य हुने र त्यसमा लाग्ने खर्चमा बचत हुने जानकारी दिनुभयाे ।
उहाँले यात्री बाहक रेलसँगै मालवाहक कार्गो रेल सञ्चालनमा आएपछि रेल्वेको घाटा सबै कम हुने बताउनुहुँदै मालवाहक रेल सञ्चालनका लागि नेपाल सरकारले गृहकार्य गरिरहेकाले चाडै सञ्चालनमा आउने बताउनु भयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले जनकपुर–जयनगर–बर्दिबास रेल सेवालाई पूर्व पश्चिम रेलमार्ग सँगै जोडेर देश भरिमा नै रेल सेवाका विस्तार गर्ने गरि केही काम भइरहेको बताउनु भयो ।
उहाँले भारतको अयोध्या–जनकपुर रेल सेवा सञ्चालन गर्ने भारत सरकारको घोषित कार्यक्रम भएकाले यसबाट दुई देशको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुहुँदै यस विषयमा दुई देशका प्रधानमन्त्रीहरूको भेटघाटका क्रममा कुरा भएको हुनु पर्ने धारणा राख्नु भयो ।
यसै बीच पत्रकार सम्मेलनमा रेल्वे विभागका महानिर्देशक अजय कुमार मुलले जनकपुर रेल्वेको निक्कै पुरानो ब्रिटिस कालको इन्जिन सहितका पार्टहरूको संरक्षण गर्नका लागि म्युजियम निर्माण गर्ने योजना सरकारको भएको बताउनु भयो । उहाँले यस पटक यसको लागि बजेट नभएपनि अगामी बजेटमा राख्ने बताउनु भयो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वेको घाटा कम मात्र होइन नाफामा लैजानका लागि बास सेन्टरको निर्माण, कार्गो रेल सञ्चालन, फ्युल सेन्टरको निर्माण तथा चाँडै लोकसेवा आयोगद्वारा नेपाली कर्मचारी भर्नाका लागि विज्ञापन हुन लागेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, नेकपा एमाले मधेश प्रदेशका ईन्चार्ज लिला श्रेष्ठ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा सहितका उच्च अधिकारीहरू उपस्थित रहनु भएको थियो ।
यसै बीच भौतिक पूर्वाधार तथा यातायातत्रमन्त्री देवेन्द्र हालले जनकपुर–जयनगर रेल सेवाको दिउँसो १२ बजेको ट्रेनमा जनकपुरधाम वाट खजुरी रेल्वे स्टेसनसम्म यात्रा गर्नु भएको छ ।