महेन्द्रनगर - दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चाडपर्व सुरक्षा योजना लागू गरेको छ । चाडवाडका समयमा हुने सम्भावित हो–हल्ला, झै–झगडा, काटमार, अशान्ति तथा अप्रिय घट्ना न्यूनीकरणका लागि सोमवार क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको अध्यक्षतामा बसेको सर्वदलिय बैठकबाट तिहारसम्म लागूहुने गरी चाडपर्व सुरक्षा योजना लागू गरेको हो ।
चाडपर्वलाई शान्तिपूर्ण बनाउनका लागि घटस्थापना देखि विजयादशमीको दिन सम्म यस नगरभरीमा रहेका मदिराजन्य विक्रि वितरण गर्ने होटलहरु रात्रिको ९ बजे सम्म मात्र संचालन गर्नको लागि सुचना, सो सुचनाको अवहेलना गरि रात्रिको ९ बजे पछि त्यस्ता होटलहरु संचालन गरेको पाईएमा नियमानुसारको कार्यवाहीको प्रक्रिया अघि बढाउने, बडा दशैंको उपलक्ष्यमा हुने मेलाहरुमा सामान्य किसिमको मनोरञ्जनका कार्यक्रमहरु संचालन गर्न मेला कमिटिलाई अनुरोध गर्ने, नाचगानको वहानामा आरकेस्ट्रा लगायतका उच्छृङखल किसिमका नाचगानमा रोक लगाउने, ठुलो स्वरमा वाजा डि.जे.वजाउन रोक लगाउने, वडा दशैं अवधिभरको लागि सुरक्षा निकायको लागि आवश्यक सवारी साधनहरु नगरपालिकाको श्रोत र साधनले भ्याए सम्म उपलब्ध गराउने र रोड स्पिड व्रेकर समेत नगरपालिकाले उपलब्ध गराउने लगायतको कुरामा छलफल भएको बैठकमा सहभागी क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरीले बताए ।
बैठकमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरी, लोसपा नगर अध्यक्ष रामराज महतो, जसपा नगर अध्यक्ष दिनेश यादव, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक सोनु कुमार साह, सशस्त्र प्रहरी बल नकटाझिजका प्रहरी निरिक्षक गोविन्द कार्की, ट्राफिक प्रहरी अ.स.नि.प्रहरी रामेश्वर चौधरी, अनुसन्धान विभाग महेन्द्रनगरका प्रमुख, क्षिरेश्वरनाथ नगरपालिका नगर प्रहरी इन्चार्ज, प्रमुख प्रशाश्कीय अधिकृत, लेखा अधिकृत लगायतको उपस्थिती रहेको थियो । साथै बैठकमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर नयाँ बजार स्थित लाग्ने दुर्गा मेला, रमदैया भवाडी स्तिथ लाग्ने दुर्गा मेला र महेन्द्रनगर जनकपुर सडक खण्ड अन्तर्गत राजदेवी मन्दिरमा लाग्ने मेलाहरुमा रातिको समय थप सुरक्षाकर्मीको संख्या बढाई चुस्त दुरुस्त बनाउने उपस्थीत विभिन्न पार्टीका प्रतिनिधिहरुले सुरक्षाकर्मीहरुलाई आग्रह गरेका थिए ।