जनकपुधाम - जनकपुधाम उपमहानगरपालिकाले कृषिलाई प्राथमिकता दिदैं पहिलो पटक धान दिवस मनाएको छ ।
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका समेतले “अन्नबाली जनकपुरधामको रखवाली” भन्ने मूल नाराका साथ बुधवार जनकपुरधाम २० स्थित नोचा पोखरी नजिक धान रोपेर धानबाली दिवस मनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका मेयर मनोज साहले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
मेयर साहले भने, “यहाँको प्रमुख समस्या रसायनिक मलको हो, त्यसमा नियन्त्रण सहितका सर्वाधिकार नेपाल सरकारको हो । डिलरबाट किसानसम्म पुर्याउन उपमहानगरपालिकाले सहजता मात्र गर्न सक्छ । त्यसका लागि उपमहानगरले डिलरलाई चाँडोभन्दा चाँडो मलखाद्य उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।”
उपमहानगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको जानकारी समेत मेयर साहले दिए ।
मेयर साहले रसायनिक मल र विषादीको बढ्दो प्रयोगले खेतको उर्वरा शक्ति कम हुने, जैविक तत्व समाप्त हुने भएकोले उत्पादनमा ह्रास आइरहेको बताए। उनले उपमहानगरले जैविक कम्पोष्ट मल उत्पादनमा जोड दिंदै किसानलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले आफै कम्पोष्ट मल उत्पादन गर्ने बताए ।
यसका साथै माटो परिक्षणको कार्यक्रम, उपमहानरले तयार पारेको प्रतिवेदनको आधारमा खाद्य वस्तुको उत्पादनमा जोड दिन किसानहरुलाई अनुदानमा धान काट्ने, हाते टयाक्टर, अन्नबाली भित्र्याउने मेसिन निःशुल्क उपलब्ध गराउने जानकारी मेयर साहले दिए ।
मेयर साहले मालपोत र नापी कार्यालयसँग समन्वय गरी कृषि योग्य क्षेत्र छुटयाएर प्रतिवेदन तयार पार्ने सोहि आधारमा खेती योग्य जग्गालाई ग्राहयतामा राखि कृषि उत्पादकत्वमा जोड दिइने बताए ।
उपमहानगरपालिकाको कृषि शाखाद्वारा आयोजित धान दिवस कार्यक्रममा उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले उपमहानगरभित्र कृषि उत्पादकत्व बढाउन उपहानगरले किसानलाई सहज हुने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सहित वडा नम्बर १०, १५ र २० अध्यक्ष, उपमहानगरपालिकाका कर्मचारी सो क्षेत्रका एक दर्जनभन्दा बढी किसानहरुले धान रोपेका थिए ।
त्यसैगरी धनुषाको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथमा मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत सामुहिक धान रापेर धान दिवस मनाएका छन् ।