सुजाता राई
पोखरा । नेपाली लोकसाहित्यका अमर साधक लोककवि अलिमियाँको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।



अलिमियाँ वाङ्मय प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका–११ स्थित भानु स्मारक पार्कमा सम्पन्न कार्यक्रममा लोककवि अलिमियाँप्रति माल्यार्पण तथा पुष्पाञ्जलि अर्पण गर्नुका साथै साहित्यिक योगदानको स्मरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति कुसुमाकर न्यौपानेले लोककवि अलिमियाँ नेपाली लोकसाहित्यका साझा सम्पदा भएको उल्लेख गर्दै उहाँका सिर्जनाले नेपाली समाजमा सांस्कृतिक सद्भाव, मानवीय मूल्य र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको बताए।
उनले यस्ता स्मृति दिवसले नयाँ पुस्तालाई आफ्ना साहित्यिक तथा सांस्कृतिक धरोहरसँग जोड्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले साहित्यकार आकाश अधिकारीद्वारा लिखित ‘जादुमयी पखेटा’ (बाल निबन्ध संग्रह) र ‘चेतनाको चिराग’ (बाल नाटक संग्रह) को संयुक्त रूपमा लोकार्पण गरेका थिए।
कृतिहरू अधिकारीका पाँचौँ र छैटौँ प्रकाशित कृति हुन्। बालसाहित्यको क्षेत्रमा प्रकाशित यी कृतिले बालबालिकामा सिर्जनशीलता, नैतिक चेतना, कल्पनाशीलता र सकारात्मक जीवनदृष्टिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त धारण राखे ।

अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले लोककवि अलिमियाँको लोकगीत, लोकभाका र नेपाली लोकसंस्कृतिको संरक्षणमा रहेको ऐतिहासिक योगदानको चर्चा गर्दै उनका सिर्जनालाई भावी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको सञ्चालन अम्बिका प्रसाद भट्टराईले गरेका थिए। स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार, संस्कृतिकर्मी, प्राज्ञ, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लोककवि अलिमियाँको स्मृतिमा आयोजित उक्त कार्यक्रमले एकातर्फ नेपाली लोकसाहित्यका अग्रणी स्रष्टाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने अर्कोतर्फ आकाश अधिकारीका दुई नवीन बालसाहित्यिक कृतिको लोकार्पणमार्फत नेपाली बालसाहित्यको समृद्धिमा नयाँ योगदान थपिएको विश्वास व्यक्त गरियो ।





