महोत्तरी – महोत्तरीको गौशालामा कोजाग्रत पूर्णिमाको दिन देवी दुर्गाको मूर्तिलाई धुमधामका साथ बिसर्जन गरेका छन्। बिहीबार स्थानीयहरुले जयजयकारको नारासहित हर्षोल्लासका साथ देवी दुर्गाको बिसर्जन गरेका हुन्। यसका साथै सडकमा दुर्गा भवानीको गीतमा तरवार लिएर नाचगान गरेका थिए।
अन्य ठाउँमा विजया दशमीको दिन दुर्गा बिसर्जन भए पनि गौशालामा भने प्रत्येक वर्ष झैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन माता दुर्गाको प्रतिमा बिसर्जन गरिएको छ। जिल्लाको गौशाला नगरपालिकाको गौशाला बजार र निगौल चोकमा मनाइने दुर्गा पूजामा यस क्षेत्रसहित अन्य ठाँउबाट समेत हजारौँको संख्यामा श्रद्धालुहरु पूजा तथा मेला हेर्न आएका थिए।



बिहीबार दुवै ठाउँमा रहेको माता दुर्गाको प्रतिमालाई नगर क्षेत्रमा घुमाएर पोखरीमा बिसर्जन गरिएको छ। गौशाला बजारमा रहेको मूर्तिलाई मलहनिया पोखरीमा र निगौल चौकमा रहेको मूर्तिलाई निगौल ठाकुर पोखरीमा बिसर्जन गरिएको छ।


























