
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
अब उनलाई पोखरा लैजाने तयारी छ । यसअघि कास्की जिल्ला अदालतले लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।
लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लगिएको छ । पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको केहीबेर कुराकानी भएको थियो ।
लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने जनाइएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले त्यहाँबाट पोखरा जाने रास्वपा स्रोतले बताइएको छ ।
सो पार्टीका अन्य नेता कार्यकर्ता शनिबार पोखरा जाने बताइएको छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।