
जनकपुर। धनुषाको बटेश्वर गाँउपालिका – ५ स्थित कालि जन ज्योति आधारभूत विद्यालयमा कोरियन फाउण्डेशनको सहयोगमा निर्माण गरिएको भवन हस्तानान्तरण गरिएको छ ।
मंगलबार विद्यालयमा आयोजित एक समारोहबीच अम होँग गिल हुमन फाउण्डेशन नेपाल शाखाका (दक्षिण कोरिया) र स्थानीयहरुको जनश्रमदानले निर्माण भएको दुई तल्ले भवनमा १४ वटा कक्षा कोठा निर्माण गरिएको छ । सो भवन औपचारिक रुपमा विद्यालयलाई हस्तान्तरण गरिएको घोषणासमेत कार्यक्रममा गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिकलाल तामाँगको सभापतित्वमा भएको सो समारोहमा गाँउपालिका अध्यक्ष राम अशिष महतो,उपाध्यक्ष फुल कुमारी सिंह,अम होँग गिल,समाजसेवी एवम् पूर्व शिक्षामन्त्री गंगाधर तुलाधरसहितका व्यक्तिहरुले भवन हस्तान्तरणकोलागि शुभमाना दिनुभएको थियो । सो समारोहमा पूर्व मधेश प्रदेशका पर्यटन मन्त्री एवम् नेकपा एमालेका नेता शत्रुधन महतोको पनि विशेष सक्रियता रहेको थियो ।
समारोहमा बोल्दै गिलले निर्माण गर्न बाँकिरहेको भवन पूर्णत छिटो भन्दा छिटो निर्माण गर्न सम्बन्धित पक्षसंग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘पालिका,विद्यालय तथा सरोकारराख्ने सबै पक्षले बाँकिको निर्माणकार्य तत्काल अगाडि बढाउनु हामिले आगामी दिनमा पनि सहयोग जारी राख्छौं यसरी औपचारिकता मात्र होइन काम कम्पिलट गरेपछि मलाई पनि बोलाउनुस’।

कार्यक्रममा पूर्व प्रदेशमन्त्री महतो,विद्यालय व्यवस्थापन समिति अध्यक्ष ताँमाग तथा वडाअध्यक्ष यादवसहितकाले सो भवन निर्माणमा भएको ढिलाई र प्रक्रियतागत त्रुटिलाई तत्काल सच्याएर यथाशीघ्र भवन निर्माण गरिने र पुन गिललाई यहाँ बोलाएर सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
३ सय ५० जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा कुनै पनि शिक्षकको दरबन्दी छैन । तथापि गाँउपालिकाबाट ३ जना,कोरियन सहयोगबाट दुईजना तथा तीन जना नीजि स्रोतबाट गरी जेनतेन पठन पाठन नियमित हुने गरेको गुनासो प्रधानाध्यापक रामनारायण लाल कर्णले गर्नुभयो ।
सो भवन निर्माणमा गाँउपालिकाले कूल लागतको २० प्रतिशत रकम प्रदान गरेको जानकारी दिँदै उहाँले भन्नुभयो,‘एक करोड दुई लखको फाउण्डेशन निर्माण गरिएको छ र सो अनुसार भवनको भौत्तिक संरचना निर्माण अझै जारी रहने र अहिले सम्म ४५ लाख जत्तिको काम सकिएको छ ।’
वरिपरिका तीन चार टोल तथा क्षीरेश्वरनाथ ३ का विद्यार्थीहरु अध्ययन गर्ने थलो यस विद्यालयमा शिक्षक अभावका कारण कुनै कुनै दिन शिक्षकले तीन तीन वटा कक्षा एक्लै भ्याउनु पर्ने अवस्था रहेको गुनासो समेत उहाँले पोख्नुभयो ।
‘राज्य लक्ष्मी कोइराला नामक जमिन्दारले वि.सं.२०६६मा वरिपरिका दलित तथा पिछडिएका वर्गमा शिक्षाको ज्योति बाल्ने उद्देश्यले विद्यालय स्थापनाकालागि सात कठ्ठा जग्गा उपलब्ध गराएकी थिइन ’पूर्व प्रअ राजनारयाण लाल कर्ण बताउनुभयाे ।
उहाँले भन्नुभयाे ,‘यस विद्यालयमा मैले पनि तीन वर्ष काज सरुवामा आई प्रअको भूमिका निर्वाह गरेँ यहिँबाट अवकाश समेत पाएको छुँ र पटक पटक सम्बन्धित शिक्षा कार्यालय तथा प्रदेश मन्त्रालयमा पुगेको छौं यहाँको लागि दरबन्दी आएन शिक्षकको ।’
संघीय शिक्षा ऐनकै अनुसार पनि कम्तिमा १० जना शिक्षकको दरबन्दी हुनु पर्ने यस विद्यालयमा एउटा पनि दरबन्दी नहुनु दुर्भाग्यपूर्ण रहेको स्थानीयवासी राजेश महतो बताउनु हुन्छ ।
यस विद्यालयमा कोरियनको सहयोगले सुविधायुक्त कम्प्युटर ल्याबलगायतको व्यवस्थापन यथोचित बन्दै गएपनि शिक्षकको अभावमा भने सो ल्याब तथा लाइब्रेरी पनि उपयोग वीहिन बनेको उहाँको गुनासो छ ।
यता बटेश्वर गाउँपालिका –५ का अध्यक्ष शिवकरण यादवले यस वार्डमा तीन वटा विद्यालय रहेको बताउँदै तीन टै आधारभूत विद्यालयमा शिक्षकको अभाव रहेको गुनासो पोख्नुभयो । आन्तरिक सरुवा मिलानको ऐन नियमले पनि समस्या हुने गरेको बाध्यता पोख्दै उहाँले भन्नुभयो,‘शिक्षा ऐनमै पनि कमिकमजोरी छ,वैज्ञानिक छैन त्यसैले हामिलाई समस्या हुने गरेको छ ।’
विद्यालयलाई समृद्ध र भौत्तिक रुपमा सम्पन्न बनाउनकालागि विभिन्न संघसंस्थाबाट सहयोग निरन्तर रुपमा भईरहेपनि गुणात्मकता अर्थात अध्ययन अध्यापनकालागि शिक्षक नियुक्ती बारे कुनै ठोसपहल हुन नसक्नुले शिक्षा क्षेत्रकोदुरावस्थालाई प्रष्ट पारेको छ।–––