महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी पकेट विकास निरन्तरता कार्यक्रम’ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। अघिल्ला आर्थिक वर्षमा स्थापना भएका तरकारी पकेट क्षेत्र, कृषक समूह तथा विभिन्न वडाका कृषकहरूलाई लक्षित गरी नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा परियोजना कार्यान्वयन निर्देशिका संयोजक सुशील प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख प्रदीप कुमार खड्का प्रमुख अतिथि तथा नगर उपप्रमुख रेणु झा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।




कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले कृषि क्षेत्र देशको आर्थिक विकास, आत्मनिर्भरता र समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले कृषि उत्पादनलाई परम्परागत प्रणालीबाट व्यवसायिक र आधुनिक प्रणालीतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै औरही नगरपालिकाले कृषि क्षेत्रमा व्यवसायीकरण, विविधीकरण, यान्त्रिकीकरण तथा बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुभयो। “कृषि केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो स्थानीय अर्थतन्त्र बलियो बनाउने आधार हो। कृषकको उत्पादन वृद्धि र आयआर्जन बढाउन स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आएको छ,” नगर प्रमुख खड्काले भन्नुभयो।

नगर उपप्रमुख रेणु झाले कृषि क्षेत्रको दिगो विकासका लागि महिला कृषकको सहभागिता र सामूहिक खेती प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिक, सम्मानजनक र आयमूलक पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सार्वजनिक सुनुवाइमा कृषकहरूको तर्फबाट बोल्दै औरही नगरपालिका–२ स्थित श्री जनता कृषक समूहका सञ्चालक दिपेन्द्र यादवले नगरपालिकाले उपलब्ध गराउँदै आएको उन्नत बीउ, कृषि उपकरण तथा प्राविधिक सहयोगले साना किसानलाई राहत पुगेको बताउनुभयो। उहाँले उत्पादन बढेसँगै तरकारीको उचित बजार मूल्य र शीतभण्डार (कोल्ड स्टोर) व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो। त्यस्तै वडा नं. १ का कृषक सुजित यादवले पछिल्लो समय देखिएका विभिन्न बाली रोग तथा कीराको नियन्त्रणका लागि खेतमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो।कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख निलाम्बर मिश्रले सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो।

नगरपालिकाका कृषि अधिकृत सुनिल यादवले तरकारी पकेट विकास कार्यक्रमको उद्देश्य, प्रगति तथा उपलब्धिबारे जानकारी दिँदै स्थानीय उत्पादनमार्फत तरकारीको आवश्यकता पूरा गर्ने र वातावरणमैत्री कृषि प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “कृषकको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि शाखाले निःशुल्क प्राविधिक सेवा, नियमित अनुगमन, निरीक्षण र आवश्यक समन्वय गर्दै आएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै जैविक उत्पादन प्रवर्द्धन गर्न भर्मी कम्पोष्ट मल, जैविक तथा निमजन्य विषादी र पोषक तत्वको प्रयोगमा जोड दिइएको छ।”

कृषि शाखाकी कविता विष्ट सङ्ग्रौलाले कृषक समूह तथा कृषि सहकारीमार्फत उन्नत जातका तरकारी बीउ, चार्जवाला पावर स्प्रेयर, मल्चिङ सिट, हजारीलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कृषकलाई प्राविधिक रूपमा सक्षम बनाउँदै बाली संरक्षण र उत्पादन वृद्धि गर्ने उद्देश्यले शाखाले नियमित अनुगमन, निरीक्षण र प्राविधिक परामर्श सेवा प्रदान गरिरहेको छ।”
कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत तथा सभापति सुशील प्रसाद आचार्यले कृषकहरूले दिएका सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तरकारी पकेट कार्यक्रमले कृषकको आर्थिक अवस्था सुधार गर्नुका साथै स्थानीय स्तरमा पोषण सुरक्षामा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा औरही नगरपालिकाका विभिन्न वडामा रहेका महावीर कृषक समूह, मिथिला कृषक समूह, श्री राम जानकी महिला कृषक समूह, श्री जनता कृषक समूह, श्री ब्रह्मबाबा कृषक समूह, श्री हनुमान कृषक समूह तथा श्री राम जानकी कृषक समूहका प्रतिनिधि तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पशुपन्छी शाखा प्रमुख रामजी प्रसाद यादव, स्टोर शाखा प्रमुख लक्ष्मण तामाङ लगायत नगरपालिकाका कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।




