
वीरगन्ज - मधेसका मुख्यमन्त्री सतिस सिंहले प्रदेशका राजधानीलाई सफा राख्न आग्रह गरेका छन् ।
बुधबार राती ‘सिएम सतिस सिंह नामक सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै मुख्यमन्त्री सिंहले यस्तो आग्रह गरेका हुन । जनकपुर धार्मिक, पौराणिक, साँस्कृतिक र पुरातात्विक सहर भएको सर्वविदित नै रहेको उनको भनाइ छ । तर यस्तो पवित्र भूमि फोहोरको सहर भएको सर्वत्र चर्चा हुने गरेको पाइएको छ ।
उनका अनुसार ‘जनकपुर सहर, फोहोरको सहर’ रहेको आम जनमानसमा भिजन सेट छ ।सडक तथा गलिगलिमा सबैतिर फोहार थुपारिने भएकोले झन चारैतिर नकारात्मक म्यासेज गइरहेको भन्दै मुख्यमन्त्री सिंहले भने अब यो विकृतिलाई हामीले रोक्नु पर्छ ।
जनकपुर फोहोरको सहर रहेको सबैमा म्यासेज रहेकोले यसलाई चिर्न हामी सबै मिलेर सुन्दर सहर बनाउने अभियान नै चलाउनुपर्ने जरुरी रहेको उनी बताउँछन् ।
उनले भने, ‘दीपावली, छठसहित विवाह महोत्सव आइरहेको छ, जहाँ लाखौं भक्तजनहरु आउँछन् । त्यसकारण पवित्र भूमिलाई स्वच्छ बनाउन हामी सबै संकल्प लिनुपर्छ । सबैले हातेमालो गरेमा यो सम्भव हुनेछ ।’
करिब तीन मिनेटको भिडिओ पोस्टमार्फत सम्बन्धित ठाउँमा मात्रै घरबाट निस्केका फोहोरहरु राख्न मुख्यमन्त्री सिंहको सुझाव छ । उनी भन्छन्, ‘घरघरबाट निस्केका फोहोरहरु एक ठाउँमा व्यवस्थित गरौं, फोहोर उठाउने गाडी आएपछि त्यसमा राखौं । यसरी ग¥यो भने जनकपुर स्वच्छ सहर बन्नेछ ।’
साथै मुख्यमन्त्री सिंहले जनकपुर उपमहानगरपालिकालाई समयमै फोहोर उठाएर यो अभियानमा साथ दिन अनुरोधसमेत गरेका छन् ।