जनकपुरधाम - छठ पर्वको तेस्रो तथा मूल दिन विहिबार साँझ अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदै हिन्दु श्रद्धालुहरूले हर्षोल्लास सहित धार्मिक–सांस्कृतिक आस्था व्यक्त गर्दैछन्। भाेली शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रूपमा समापन हुन्छ।
यस अवसरमा जनकपुरधामसहित मुलुकका असंख्य नदी, पोखरी, नहर लगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ। छठको अवसरमा जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, गोसाइकुण्ड लगायत दर्जनौं पोखरीहरू सिँगारिएको छ। जनकपुरधामको छठ हेर्न देश–विदेशका विभिन्न ठाउँबाट पर्यटकहरू आउने गर्छन्।
छठ पर्व समावेशी पर्व हो।
छठमा पर्वमा डोम जातिले बनाउने ‘सुपली (कुनिया)देखि किसानको खेतमा उत्पादन ‘सुथनी’समेत प्रयोग हुन्छ। छठ पर्वको विधि छठ पर्व निकै कठिन पर्व मानिन्छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिनाअन्न–पानीको भोकै बस्नुपर्छ। जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। छठ नै यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी (अस्ताउँदो) सूर्यलाई पनि पूजा गर्ने परम्परा छ।
बिहानपख उदाउँदै सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ। लाखौं हात अर्धको लागि एकैचोटि सूर्यतिर फर्काएर नमन गर्दाको अद्भूत दृश्य विश्वमा विरलै होला। छठ पूजामा साँझको समयमा जुन सामग्री सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिन्छ सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा अर्पण गर्ने लोक–परम्परा रहेको छ।
सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ तर नदी किनारमा रहेका घाट रहेका ठाउँमा असुरक्षाका कारण घाटबाट प्रसादहरू घर लगिन्छ र भोलि बिहान सूर्य उदाउनुअगावै पुनः त्यो प्रसाद घाटमा ल्याइन्छ। बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गर्छन्, जसलाई ‘पारन’ भनिन्छ।