महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरका ३४ परिवारले करिब ६ दशकपछि जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय महोत्तरी, जलेश्वरको २ नम्बर नापी टोलीद्वारा गाउँ ब्लक क्षेत्रको नापजाँच तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शुक्रबार आयोजित कार्यक्रममा स्थानीय ३४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो। वर्षौँदेखि जग्गाको स्वामित्वको आधिकारिक प्रमाणबाट वञ्चित स्थानीयवासीले लालपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्।




कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले स्थानीयवासीले दशकौँदेखि लालपुर्जाको प्रतीक्षा गरिरहेको विषय आफूले चुनावी अभियानका क्रममा नै सुनेको बताउनुभयो। सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहलपछि लालपुर्जा वितरण सम्भव भएको उल्लेख गर्दै उहाँले बाँकी रहेका योग्य नागरिकलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराइने बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालमा जग्गा नापजाँचको प्रारम्भिक चरणमा बस्ती क्षेत्रलाई ‘गाउँ ब्लक’का रूपमा छाडिएकाले धेरै नागरिक लालपुर्जाबाट वञ्चित हुनुपरेको बताउनुभयो। अहिले राज्यले गाउँ ब्लक क्षेत्रको नापजाँच तथा लालपुर्जा वितरणलाई अभियानका रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले बाँकी रहेका नागरिकलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराइने जानकारी दिनुभयो।

उहाँले लालपुर्जा प्राप्तिसँगै नागरिकले आफ्नो सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्न पाउने, बैंकिङ कारोबार गर्न सक्ने तथा सम्पत्तिको औपचारिक उपयोग गर्न सक्ने अवस्था सिर्जना भएको बताउनुभयो। जनप्रतिनिधि, नापी, मालपोत तथा प्रशासनबीचको समन्वयले अभियानलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो।
गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतोले लालपुर्जा प्राप्त गर्ने परिवारलाई बधाई दिँदै छुटेका नागरिकलाई धैर्य रहन आग्रह गर्नुभयो। कानुनी प्रक्रिया पूरा भएपछि योग्य सबै नागरिकले लालपुर्जा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले लालपुर्जालाई सम्पत्तिको महत्वपूर्ण कानुनी प्रमाणका रूपमा सुरक्षित राख्न आग्रह गर्नुभयो।

भूमि सुधार तथा मालपोत कार्यालय महोत्तरीका प्रमुख दीपेन्द्रकुमार झाले करिब ६० वर्षपछि नागरिकले आफ्नो जग्गाको आधिकारिक स्वामित्व प्रमाण प्राप्त गरेको बताउनुभयो। उहाँले लालपुर्जा पुस्तौँदेखि भोगचलन गर्दै आएको घरघडेरी तथा बसोबास क्षेत्रको स्वामित्व प्रमाणित गर्ने कानुनी दस्तावेज भएकाले यसको संरक्षण र सदुपयोग गर्न आग्रह गर्नुभयो।
नापी कार्यालय महोत्तरीका प्रमुख राजु कुमार सुबेदीले गाउँ ब्लक क्षेत्रका जग्गाको नापजाँच, दाबी–विरोधको निरूपण तथा आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो। पहिलो चरणमा ३४ परिवारलाई लालपुर्जा वितरण गरिएको र बाँकी रहेका योग्य लाभग्राहीलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराइने उहाँले बताउनुभयो।

गौशाला नगरपालिका–४ का वडा अध्यक्ष रामनारायण महासेठले वडावासीको दशकौँ पुरानो समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले लालपुर्जा वितरणका लागि विभिन्न निकायबीच निरन्तर समन्वय गरिएको उल्लेख गर्दै छुटेका नागरिकलाई पनि लालपुर्जा उपलब्ध गराउन पहल जारी रहने जानकारी दिनुभयो।
लालपुर्जा प्राप्त गर्ने स्थानीय बेचन साही र किशोरी दासले वर्षौँदेखिको प्रतीक्षा अन्त्य भएको प्रतिक्रिया दिनुभयो। लालपुर्जा प्राप्त गरेपछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको र सरकारी सेवा–सुविधा प्राप्त गर्न सहज हुने उहाँहरूको भनाइ थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारुमगर, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उपअनुसन्धान निर्देशक चन्दन झा, नापी टोली प्रमुख शत्रुधन यादव, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

वर्षौँदेखि स्वामित्व प्रमाणपत्रविहीन अवस्थामा बसोबास गर्दै आएका परिवारले लालपुर्जा प्राप्त गरेपछि राज्यप्रतिको विश्वास थप बलियो भएको बताएका छन्। स्थानीयवासीले बाँकी रहेका गाउँ ब्लक क्षेत्रका नागरिकलाई पनि यथाशीघ्र लालपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
























