महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिका –२ को वडाध्यक्ष पदमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा (एमाले)ले छलाङ्ग मार्ने दावी गरेको छ । स्थानीयसमेत रहेका एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गत निर्वाचनमा सो वडामा चौथो रहेको पार्टीलाई पहिलो बनाएर छलाङ्ग मार्ने दावी गरेका हुन् । रामगोपालपुर –२ मा गत शनिवार भएको कार्यकर्ता भेला तथा घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले मंसिर १६ गते हुने उपनिर्वाचनमा सो वडामा एमालेले जित निकाल्ने दावी गरे ।
उनले भने ‘जनमतको आधारमा देशको पहिलो, प्रदेशको पहिलो र रामगोपालपुर नगरपालिकाको पनि पहिलो पार्टी भएको एमाले वडामा दोश्रो हुनै सक्दैन ।’ बाक्सामा भोट खसाएर निर्वाचन अधिकारीले गनर आधिकारिक घोषणा गर्ने पर्ने प्रकृया भएकाले मंसिर १६ कुर्नु परेको बताए । उनले भने ‘होइन भने यही उपस्थितिले हामी एक नम्वर भइसकेका छौं । अब प्रकृया पु¥याउन बाँकी छ । ’सो वढामा २०७९ को निर्वाचनमा माओवादीका मुकेश यादवले जितेका थिए । दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । १५ वटा पालिका रहेको महोत्तरी जिल्लामा रामगोपालुर नगरपालिका मात्र एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको पालिका हो । वडा–२ मा भने पार्टीको आन्तरिक कारणले चौथो स्थानमा रहेको मन्त्री यादव बताउँछन् । तीन वटा टोल रहेको सो वडामा टेङ्गर, मोहनपुर प्रमुख छन् । टेङ्गर दुई वटा टोलमा विभाजित छ ।
एउटामा यादवहरूको बाहुल्यता छ । माओवादी उम्मेदवार र एमाले नेता सरोज एउटै टोलका वासिन्दा हुन् । टङ्गरकै अर्को टोलमा दास(तत्मा) र महतो (कोइरी) को छ्यासमिस बसोवास छ । माओवादीका नेता अरविन्द दास सोही टोलका वासिन्दा हुन् । मोहनपुर भने मुस्लिम बस्ती हो । एमाले र कांग्रेस उम्मेदवार यहींका बासिन्दा हुन् । गत निर्वाचनमा मुकेश यादव ४३३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए । एमालेका उम्मेदवारले २७५ मत प्राप्त गरेका थिए । अहिले परिस्थिति उल्टीएको छ । सो निर्वाचनपछि जसपाका सकिबुल खाँन एमाले प्रवेश गरेका छन् । एमालेका तत्कालिन उम्मेदवारले नै सकिबुललाई उपनिर्वाचनमा वडाध्यक्षको प्रस्ताव गरेको एमालेले जनाएको छ । अहिले तेश्रो भएका सकिबुल खाँनलाई नै एमालेले उम्मेदवार बनाएको छ । २०७९ कै मत परिणामलाई मान्दा पनि सकिबुलबो पक्षमा ६०० बढी मत हुन्छ ।
सो वडामा २ हजार २ सय मतदाता रहेका छन् । तत्कालिन वडाध्यक्षको मृत्युपछि माओवादीले उनकै श्रीमती आइती कुमारी यादवलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले पुरानै उम्मेदवार दोहोर्याएको छ । सोही वडा निवासी एमाले केन्द्रीय सदस्य तथा मधेश सरकारका भौतिक पूर्वाधारमन्त्री भएको र पालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत एमालेकै भएकाले रामगोपालपुर –२ मा विकासले फड्को मारेको देख्न सकिन्छ । गल्ली–गल्ली ढलान सडक, मुख्य सडक सम्सी गाउँपालिकादेखि जलेश्वर –बर्दिवास जोड्ने मुख्य सडक कालोपत्रे भएको छ । प्रदेश र नगरपालिकाले सो वडामा मात्र १० भन्दा बढी सिंचाईका लागि बोरिङ्ग गरिएको बताइएको छ । मुख्यगरी तीन राष्ट्रिय पार्टीको भिडन्त हुने लख काटिएको भए पनि खास प्रतिस्पर्धा एमाले र माओवादीबीच हुने स्थानीय बताउँछन् ।
माओवाीले निवर्तमान वडाध्यक्ष मुकेशकै श्रीमतीलाई उम्मेदवार बनाएकाले भावनामा खेलेर सहानुभूति मतले जित्ने दाउ गरेको छ भने एमालेले विकासको काम देखाएर जित निकाल्ने सुर गरेको छ । अर्कोतिर माओवादीले ‘समाजवाद निर्माणको आधार तयार गर्न’ भन्ने राष्ट्रिय नारालाईनै मुख्य नारा बनाएर भोट मागिरहेको छ भने एमालेले ‘जालझेल र प्रपञ्चका विरुद्ध, सामाजिक सद्भावका लागि’ भन्ने स्थानीय नारा बनाएर भोट मागिरहेको छ । परिणाम कस्को पोल्टामा जान्छ भन्ने थाहा पाउन मंसिर १५ कुर्नै पर्ने हुन्छ ।