महोत्तरी – मधेस प्रदेशअन्तर्गत ६ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, धनुषाको धनुषाधाम नगरपालिका–१,महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको तीन स्थानहरू इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
मधेस प्रदेशको पछिल्लो राजनीतिक परिदृश्यले एमालेका लागि ठूलो चुनौती देखाएको छ । कांग्रेस, जसपालगायत दल मुख्य प्रतिस्पर्धामा छन् । डाक्नेश्वरी नगरपालिका–१ मा अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र जसपाबीच प्रतिस्पर्धा देखिएको थियो । कांग्रेसका प्रितमलाल चौधरी ५३५ मतसहित विजयी हुँदा एमालेका धिरेन्द्रकुमार साह ४६९ मतमा सीमित भएका थिए। जसपाका लक्ष्मणदेव साहले ४३८ मत ल्याएका थिए । अहिले पनि यही त्रिकोणात्मक भिडन्तको सम्भावना छ ।



डाक्नेश्वरी नगरपालिका–४ मा भने एमाले अघिल्लो निर्वाचनमा निकै कमजोर देखिएको थियो । कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित विजयी हुँदा जसपाका महेन्द्र यादव २६९ मतमा रोकिएका थिए । यहाँ एमालेका उपेन्द्र रामले मात्र २५ मत प्राप्त गरेका थिए । धनुषाधाम नगरपालिका–१ मा कांग्रेसका विश्वनाथ यादवले ६१८ मतसहित विजय हासिल गरेका थिए ।
एमालेका प्रमोद यादव ३७७ मतसहित दोस्रो स्थानमा थिए । त्यहाँ माओवादी र जसपाका उम्मेदवार पनि नजिकका प्रतिस्पर्धी थिए । धनुषाधामकै रामगोपालपुर–२ मा माओवादी केन्द्रका मुकेशकुमार यादव ४३३ मतसहित विजयी भएका थिए । कांग्रेसका मोहम्मद जनिफ खाँ ३७५ र जसपाका सकिबुल खाँ ३४२ मतमा सीमित हुँदा एमालेका कादिर हुसैन २८७ मतमा रोकिन पुगेका थिए । अहिले पनि यहाँ एमाले कमजोर मानिएको छ ।
ईशनाथ नगरपालिका–७ मा अघिल्लो निर्वाचनमा एमालेका शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए । त्यहाँ कांग्रेसका शेख अब्दुल खलिक ५७८ मतसहित निकट प्रतिस्पर्धी थिए । त्यहाँ एमाले र कांग्रेसबीच अहिले पनि मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
तर, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा भने एमालेको अवस्था कमजोर छ । यी क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेस र जसपाबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो । रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला जसपा नेपालका मोहम्मद नसिम अख्तर ४६५ मतसहित दोस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीका जिकरुलाहले ३२० र नेकपा एमालेका उदयनारायण जैसवालले २८४ मत पाएका थिए ।
रौतहटको गढीमाई नगरपालिका–८ मा जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित निर्वाचित हुँदा कांग्रेसका वैधनाथ ठाकुर लोहारले ५६१, नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९, लोसपा नेपालका इस्लाम महम्मद नटले २४१ र नेकपा एमालेका रामएकवाल ठाकुर लोहारले २९ मतमात्र पाएका थिए ।




