
जनकपुरधाम - मंसिर १६ गते ४४ रिक्त पदकालागि निर्वाचन हुँदै छ । यसकालागि अधिकांश दल तयारीमा लागेका छन् ।
स्थानीय तहका रिक्त ४४ पदमध्ये दुई जिल्ला समन्वय समितिका अध्यक्षबाहेक ४२ पदमा नेकपा एमालेले उम्मेदवारी दिएको छ । तीमध्ये २०७९ को स्थानीय तहमा एमालेले ७ स्थानमा जित हासिल गरेको थियो ।अहिले उम्मेदवारी दिएका ४२ पदमध्ये स्थानीय तह निर्वाचन २०७९ मा २२ पदमा एमाले दोस्रो स्थानमा अर्थात् निकटतम प्रतिस्पर्धी थियो ।
मधेस प्रदेश अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्षमा एमालेले भगवाणी साहलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबिच मुख्य प्रतिस्पर्धा देखिएको थियो । त्यतिबेला नेपाली कांग्रेसका प्रितमलाल चौधरी ५३५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका धिरेन्द्रकुमार साहले ४६९ र जसपा नेपालका लक्षनदेव साहले ४३८ मत पाएका थिए ।
यस्तै, डाक्नेश्वरी नगरपालिका–४ को वडा अध्यक्ष पदमा एमालेले संजय यादवलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित निर्वाचित हुँदा जसपा नेपालका महेन्द्र यादव २६९ मतसहित निकटतम प्रतिस्पर्धी थिए । यहाँ एमालेका उम्मेदवार उपेन्द्र रामले २५ मतमात्र प्राप्त गरेका थिए ।धनुषाको धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्ष पदमा नेकपा एमालेले प्रमोद यादवलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिबेला नेपाली कांग्रेसका विश्वनाथ यादव ६१८ मतसहित निर्वाचित हुँदा एमाले प्रमोद यादवले ३७७ मत पाएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ३६९ र जसपा नेपालका देवनारायण यादवले ३२५ मत पाएका थिए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेले मो. सकिबल खानलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला नेकपा माओवादी केन्द्रका मुकेशकुमार यादव ४३३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५, जसपा नेपालका सकिबुल खाँले ३४२ र नेकपा एमालेका कादिर हुसैनले २८७ मत पाएका थिए ।
रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा एमालेले शेख अनवारलाई उम्मेदवार बनाएको छ । यो वडाको अध्यक्षमा यसअघि एमालेकै शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ५७८ र नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएका थिए ।रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । अहिले एमालेले यहाँ मो. नसिम अख्तरलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला जसपा नेपालका मोहम्मद नसिम अख्तर ४६५ मतसहित दोस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीका जिकरुलाहले ३२० नेकपा एमालेका उदयनारायण जैसवालले २८४ मत पाएका थिए ।
अघिल्लो निर्वाचनमा एमालेको जनाधार कमजोर देखिएको अर्को स्थान रौतहटको गढीमाई नगरपालिका–८ पनि हो । यहाँ एमालेले जिउती देवी यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका वैधनाथ ठाकुर लोहारले ५६१, नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९, लोसपा नेपालका इस्लाम महम्मद नटले २४१ र नेकपा एमालेका रामएकवाल ठाकुर लोहारले २९ मतमात्र पाएका थिए ।
उपनिर्वाचनमा मतदानको दिन आउन १२ दिनमात्र बाँकी रहँदा सत्तामा रहेको दल नेपाली कांग्रेस २६ सिट जोगाउनुपर्ने चुनौतीमा छ । निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार यहीँ मंसिर १६ गते ४४ पद रिक्त रहेका विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । त्यसमध्ये सबैभन्दा धेरै कांग्रेसले गुमाएको स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।
पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्मा नतिजा आउँदा कांग्रेस पहिलो दल बनेर उभिने दाबी गर्छन् । उनी विगतको विरासत जोगाउने चुनौति भएको स्वीकार गर्दै एमालेसँग ‘सरकारमा सहकार्य र मैदानमा प्रतिस्पर्धा’ गरेर अधिक स्थान कांग्रेसले जित्ने बताउँछन् ।
‘देशरभरको तथ्यांक र आन्तरिक तयारी उम्मेदवारी चयनमा देखिएको हार्दिकता लगायत सबै समीकरण हेर्दा उपनिर्वाचन पश्चात् नेपाली कांग्रेस पहिलो दलको रुपमा उभिन्छ‚’ महामन्त्री शर्माले भने ।कांग्रेसले २०७९ को स्थानीय तहबाट जितेका ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुख गुमाएको थियो । उपनिर्वाचनका लागि मंसिर २ गते भएको मनोनयन दर्ताका क्रममा एमालेसँग अघोषित भएको सहकार्यबाट ओखलढुंगा जिसस प्रमुखमा निर्विरोध र कैलालीमा पनि कांग्रेसले जिसस प्रमुख जित्ने अवस्था बनेको छ ।
यसबाहेक कांग्रेसले मुख्य रूपमा काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष गुमाएको छ । यहबाहेक वहुसंख्यक वडामा पनि अध्यक्ष गुमाएको छ ।
मधेस प्रदेश अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडा यसअघि कांग्रेसले जितेको थियो । पार्टीबाट उम्मेदवार बनेका प्रितमलाल चौधरी ५३५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका धिरेन्द्रकुमार साहले ४६९ र जसपा नेपालका लक्ष्नदेव साहले ४३८ मत पाएका थिए । उपनिर्वाचनका लागि कांग्रेसले भुलियादेवी थरूनीलाई टिकट दिएको छ । यस्तै, डाक्नेश्वरी नगरपालिका–४ मा पार्टीले जोगिन्द्र रायलाई टिकट दिएको छ । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित निर्वाचित भएका थिए । यहाँ जसपा नेपालका महेन्द्र यादव २६९ मतसहित निकटतम प्रतिस्पर्धी थिए । यहाँ एमालेका उम्मेदवार उपेन्द्र रामले २५ मतमात्र प्राप्त गरेका थिए ।
धनुषाको धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्ष पदमा कांग्रेसले अशोककुमार मण्डललाई उम्मेदवार बनाएको छ । उनले कांग्रेसको विरासत जोगाउने अभिभारा पाएका छन् । २०७९ को निर्वाचनमा कांग्रेसले जित्दा विश्वनाथ यादव ६१८ मत पाएका थिए । यस्तै दोस्रो स्थानमा एमालेका प्रमोद यादवले ३७७ मत पाएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ३६९ र जसपा नेपालका देवनारायण यादवले ३२५ मत पाएका थिए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा माओवादीले अघिल्लो चुनाव जित्दा कांग्रेस दोस्रो स्थानमा रहेको थियो । त्यसबखत पार्टी उम्मेदवार मोहम्मद जनिफ खाँले ३७५ मत पाएका थिए । हाल जितको अभिभार सहित यहाँ उनै खाँले पुनः टिकट लिएका छन् ।मधेश प्रदेशकै रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसले शेख अब्दुल खलिकलाई टिकट दिएको छ । उनी पनि २०७९ मा निर्वाचन लडेर ५७८ मतसहित दोस्रो बनेका थिए । यहाँ एमालेका शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएर तेस्रो बनेका थिए । रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । त्यही जितलाई कायम गर्न भन्दै कांग्रेसले उपनिर्वाचनका लागि समसे आलमलाई टिकट दिएको छ । रौतहटकै गढीमाई नगरपालिका–८ मा भने कांग्रेसले सुवोदकुमार यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित जितेका थिए । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार वैधनाथ ठाकुर लोहारले ५६१ मत पाएका थिए ।
मंसिर १६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अघिल्लो पटक जितेको ८ सिट दाउमा परेको छ ।२०७९ को निर्वाचनमा माओवादीले तत्कालीन सत्ता गठबन्धन दल नेपाली कांग्रेससँग केही स्थानमा तालमेल र केही स्थानमा एकल प्रतिस्पर्धा गरेको थियो ।
सातै प्रदेशमा रिक्त विभिन्न ४४ पदका लागि निर्वाचन आयोगले निर्वाचन गर्दैछ । यद्यपि तीमध्ये कम्तीमा १२ सिट जित्ने माओवादीको दाबी छ । अघिल्लो पटक ४४ स्थानमध्ये २९ स्थानमा माओवादीले उम्मेदवारी दिएको थियो ।
संसद्को तेस्रो शक्ति रहेको माओवादीले अघिल्लो निर्वाचनमा रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जितेको थियो ।
यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १२, पुथा उत्तरगंगा गाउँपालिका– २, जाजरकोटको कुशे गाउँपालिका– ७, कालिकोटको तिलागुफा नगरपालिका– ४, र दार्चुलाको दुहुँ गाउँपालिका– ५ को वडाध्यक्ष यसअघि माओवादी केन्द्रले जितेको थियो । योपटक केही स्थानबाहेक प्रमुख तीन दल कांग्रेस, एमाले, माओवादी भिन्नाभिन्नै चुनावी प्रतिस्पर्धामा उत्रिन लागेकाले रोचक हुने देखिन्छ । अघिल्लोपटक ४४ स्थानमा माओवादीको मतपरिणाबारे संक्षिप्तमा प्रस्तुत गरिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा ६३ मतसहित माओवादीका उम्मेदवार चन्द्रकान्त साह छैटौ स्थानमा रहेको थियो । यहाँ कांग्रेसका उम्मेदवार प्रितमलाल चौधरी ५३५ मत पाएर विजयी भएका थिए । एमाले, जसपा, लोसपा र जनमत पार्टी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं स्थानमा रहेका थिए । माओवादीबाट यसपटक प्रमोदकुमार चन्द उम्मेदवार बनेका छन् ।
यसैगरी डाक्नेश्वरी नगरपालिका–४ मा माओवादीका उम्मेदवार वौवालाल रामले जम्मा १८ मत पाएका थिए । यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद यादवले ३३३ मत पाएर विजयी भएका थिए । जसपा, लोसपा, जनमत र एमाले क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाचौं स्थानमा रहेका थिए । यहाँ माओवादीले विन्दादेवी रामलाई उम्मेदवार बनाएको छ ।
यस्तै धनुषाको धनुषाधाम नगरपालिका–१ माओवादीका उम्मेदवार सुनिल कापर केवटले ३६९ मत ल्याएर तेस्रो भएका थिए । यहाँ कांग्रेसका विश्वनाथ यादवले ६१८ मत ल्याएर विजयी भएका थिए । सुनीलकुमार कापरलाई माओवादीले उम्मेदवार बनाएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ माओवादीका मुकेशकुमार यादवले ४३३ ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ पाएका थिए । योपटक माओवादीले आइपीकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।रौतहटको ईशनाथ नगरपालिका–७ मा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ एमालेका शेख खलीउल्लाहले ६८३ मत ल्याएर विजयी भएका थिए । कांग्रेस दोस्रो र एकीकृत समाजवादी तेस्रो भएको थियो ।
राजपुर नगरपालिका–६ मा माओवादीका नुरुल हक मन्सुरी १७ मतसहित पाचौ स्थानमा पुगेको थियो । कांग्रेसका शेख मोजरे आलमले ५३४ मत ल्याएर विजयी भएका थिए ।
रौतहटको गढीमाई नगरपालिका–८ मा माओवादीका उम्मेदवार सर्वजीत महरा चमारले १० मत पाएर छैटौं स्थानमा पुगेका थिए । यहाँ जसपा नेपालका उम्मेदवार रामाज्ञा राय यादव ७६४ मतसहित विजयी भएका थिए ।