जनकपुरधाम। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीआरआई (चिनियाँ परियोजना )मार्फत ऋण हैन अनुदान सहयोग लिइने बताएका छन्। उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको बताए ।
आइतवार धनुषाका नेपाली कांग्रेसका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, देश र जनताको अधिकारका लागि कठोर जेल जीवन विताएका अरविन्द ठाकुर को प्रतिमा अनावरण कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका पूर्व प्रधानमन्त्री देउवाले जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै बीआरआई परियोजना बारे काँग्रेसको धारण प्रस्ट पार्दै भने ‘ऋण होइन अनुदान लिनुपर्छ ।’
कांग्रेस सभापति देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पनि फलदायी हुने पनि बताउँदै सत्ता गठबन्धनमा कुनै किसिमको खटपट नभएको पनि बताए ।
उनले यो गठबन्धन रहिरहने र संघीय सरकारमा कुनै खटपट नभएको बताए । देउवाले भने,‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले समेत निर्णय र सहमती अनुसार हुने बताए।’
प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुर आइपुगेका देउवा केहीबेरमा लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । देउवासँगै कांग्रेसका नेता बिमलेन्द्र निधि पनि जनकपुर आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।
यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली मुलुकको आर्थिक अवस्था हेरेर चीनबाट अनुदान मात्रै लिने सवालमा सहमत भए पनि बीआरआई कार्यान्वयन योजना सम्झौता गर्नुपर्ने पक्षमा छन् । कांग्रेसका नेताहरूबाट भने बेग्लाबेग्लै राय आइरहेको छ ।
कांग्रेसका कतिपय नेताले देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौतामा हस्ताक्षर गर्दा फरक नपर्ने मत राखिरहेका छन् भने कतिपयले भूराजनीतिक अवस्थिति हेरेर अहिले यसमा प्रवेश नै गर्न नहुने तर्क गरिरहेका छन् ।


