सर्लाही- सर्लाहीको बलरा नगरपालिकाको गडहिया डुमरिया दुई दिवशीय विज्ञान प्रदर्शनी मेला भव्य रुपमा सुरु भएको छ ।
बलरा नगरपालिका वडा नम्वर ८ गडहिया डुमरियामा रहेका श्री जनता मावीमा दुई दिवशीय विज्ञान प्रदर्शनी मेला भव्य रुपमा सुरु भएको हो ।
मंसिर १८–१९ गरेर दुुई दिन चल्ने विज्ञान प्रदर्शनी मेलाको संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उदघाटन गरेकी छिन् ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौं सँगको सहकार्यमा बलरा नगरपालिकाले जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरेको नगरप्रमुख रामाशंकर कुशवाहाले बताए । अहिलेको बैज्ञानिक युगमा प्रविधि संग पहुँच बनाउने उद्देश्यका साथ सर्लाही जिल्ला सहित वरिपरिका जिल्लाका विद्यार्थीहरुमा रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार होस भन्दै आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरिएको उनले भने ।
प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाको २० मध्ये १४ स्थानीय तहका ३७ विद्यालय छनौटमा परेर स्टल लगाइएको बलरा नगरपालिकाले जनाएको छ ।
प्रदर्शनी मेलामा माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र अन्य दुईवटा विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
यसैगरी आधारभूत तर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र अन्य दुईवटा विद्यालयलाई चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विज्ञान प्रदर्शनीमा ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको छ भने प्रतिनिधि सभा साँसद, प्रदेशका मन्त्री, प्रदेश साँसद, स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय समितिका अध्यक्ष, आठै जिल्लाका शिक्षा समन्वय इकाई कार्यालयका प्रमुखहरु सहित जनप्रतिनिधिहरु, शिक्षकहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेका छन् ।