जनकपुरधाम - नेपाल पत्रकार महासंघ धनुषाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा निर्वाचित पुरन साह नेतृत्वको महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बुधवार एक कार्यक्रमका बीच शपथ ग्रहणपछि पदभार औपचारिक रूपमा सम्हालेका हुन् ।
प्रमुख निर्वाचन अधिकृत बिएम खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाण पत्र प्रदान वितरण गरेका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष पुरन साहले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नेपाल पत्रकार महासंघ धनुषालाई नयाँ उचाइमा पुर्याउन हामी एकजुट भएर काम गर्नेछौं ।
पत्रकारिताको मर्यादा र जनताको आवाजलाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ ।”
नवनिर्वाचित अध्यक्ष साहलाई निवर्तमान अध्यक्ष मनिका झाले कलम हस्तान्तरण गर्दै महासंघमा स्वागत गरेका थिए ।