धनुषा - नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरको जानकी मन्दिरमा मनाउनुभएको छ। शनिबार जानकी मन्दिर परिसरमा मनाइएको राजदूत फेन दम्पतीले मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फुलको वरमाला र बेहुलाले टाउकोमा लगाउने मौर पाग लगाएका फेन त्रेतायुगमा भगवान रामजानकीले यसै पावन धर्तीमा विवाह रचाएकाले आफु वैवाहिक वर्षगाँठ मनाउन आएको र अत्यन्तै हर्षित भएको बताउनुभयो ।
वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह लगायतको सहभागिता रहेको थियो । राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताउनुभयो। उहाँहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेशको परम्परागत भेष, सुमधुर भाषा, यहाँको संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्टमध्ये लागेको र जनकपुरधाममा आफ्नो २२औं वैवाहिक वर्षगाँठको शिलशिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमती सहित सहभागी हुन पाउँदा मलाई गौरवान्वित महसुस भएको बताउनुभयो ।
गत वर्ष कार्य विशेषले जनकपुरधाम लगायत मधेशका विभिन्न चर्चित ठाउँहरु घुम्न पाएको र त्यही बेला नै यो वैवाहिक वर्षगाँठ जनकपुर नगरमा मनाउने निधो गरेँ फेनले बताउनुभयो । संघीय सरकारले जनकपुरलाई वैवाहिक स्थल(म्यारिज डेस्टिनेसन) बनाउने नीति लिएको छ । बेलायतका राजदूत फेनले नेपाल सरकारको त्यही नीतिलाई अवलम्बन गरेर आफूहरुले जनकपुरको जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ मनाएको प्रतिक्रिया दिनुभयो ।
फेन दम्पतीले जानकी मन्दिरको धन्यवाद नोटमा उल्लेख गर्नुभएको छ, ‘यस अवसरमा जानकी मन्दिरमा आशिर्वाद ग्रहण, धनुषाधाम मन्दिर दर्शन, धनुषाधाम वनमा वृक्षारोपण तथा पवित्र गंगा आरतीमा सहभागी हुन्छौं। साथै, मेरा व्यक्तिगत पहल तथा बेलायती राजदुतावासको सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित विभिन्न कार्यक्रम मार्फत निकट भविष्यमा जनकपुरधाम र मधेश प्रदेशले समग्र विकासमा ठूलो फड्को मार्ने विश्वास पनि लिएको छु ।’