धनुषा – ०८१ पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम जनकपुरधाममा पुस १४ गते विहान सम्पन्न गरिएको छ । सन् २०२४ मा धनुषा जिल्लामा अभिलेख गरिएको मानव अधिकार उल्लंघन तथा ज्यादती घटनाको पुष्टि तथा पुनरपुष्टिका लागि आज समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

समीक्षा कार्यक्रममा धनुषा जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरिएका मानव अधिकार उल्लंघन तथा ज्याद्तीका घटनाहरू इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार यस वर्ष राज्य पक्षबाट एक र अन्य पक्षबाट ८ सय १२ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भए । गत वर्ष अर्थात् सन् २०२३ मा १ सय २२ जना पीडित भएको घटना अभिलेख गरिएको उहाँले जानकारी दिनु भएको थियो । सन् २०२४ मा दुई महिला र एक पुरुष गरी तीन जनाको हत्या भयो भने दुई जना महिलाको परिवारजनबाट हत्या भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष कुटपिट घटनामा नौ जना पीडित भएकोमा अन्य पक्षबाट आठ जना र राज्य पक्षबाट एक जना पीडित भएको प्रतिवेदनमा छ ।




यो वर्ष चार जनामाथि अमानवीय व्यवहारका घटना भए भने बालअधिकारका घटनामा ११ बालिका र तीन बालक गरी १४ जना पीडित भएको प्रतिवेदनमा उल्लेखछ । जसमध्ये अपहरण घटनामा एक, विद्यालयमा दिने शारीरिक सजायका घटनामा दुई जना बालक, बलात्कार घटनामा नौ र यौन दुव्र्यवहार घटनामा दुई जना बालिका पीडित भएको छ । गत वर्ष अर्थात् सन् २०२३ मा ११ जना बालबालिका पीडित भएका थिए । महिला अधिकार घटनामा यो वर्ष ७ सय ८२ जना पीडित भएकोमा मानव बेचबिखन घटनामा तीन, बलात्कार घटनामा २३, बलात्कार प्रयासका घटनामा दुई र र यौन दुव्र्यवहारका घटनामा एक, बोक्सीको आरोप घटनामा चार, घरेलु हिंसाका घटनामा ७ सय १७ र बहुविवाहका घटनामा २९ जना पीडित भएको उल्लेख छ । गत वर्ष अर्थात् सन् २०२३ मा ९१ जना महिला पीडित भएको घटना अभिलेख थियो ।
समीक्षा बैठकमा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीले जिल्लामा हिंसाका घटनाहरुमा बृद्धि भइरहेकोले हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न प्रहरी र समुदायको साझेदारी आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय समन्वय गर्ने निकाय भएकोले हामी संवेदनशिल रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई थियो । जिल्ला प्रहरी कार्यालयका एसपी भुवनेश्वर तिवारीले मानव अधिकार अभिलेखिकरण र मानव अधिकार प्रबद्र्धन गर्न इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक राम्रो समग्री भएको बताउनु भयो । नेपाल प्रहरी मानव अधिकारप्रति सचेत रहेको उल्लेख गर्नु हुँदै मानव अधिकार संस्थाहरुसँगको समन्वय र सहकार्यमा मानव अधिकार सचेतना भइरहेकोले घटनाहरुमा बढोत्तरी भएको बताउनु भयो ।

घटनाका पीडितको न्यायमा हामी सबै जना केन्द्रीत हुनु पर्ने उहाँको जोड थियो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकारका घटनामा वृद्धि हुनु र नागरिकले सहज रुपमा न्याय र अधिकार नपाउँनुले मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको बताउनु भयो । हिंसाका घटनामा वृद्धि भइरहेको उहाँले उल्लेख गर्नु हुन्दै हिंसाका घटनालाई न्युनिकरण गर्नका लागि कानुनहरुको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । समाजमा अहिले पनि मानव अधिकारसम्बन्धी कानुनी सचेतना आवश्यक रहेकोले सम्बन्धित निकायहरुको समन्वय र सहकार्यमा ध्यान जान आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो । नेपाल बार एसोसिएसनका अध्यक्ष बलराम मिश्रले इन्सेकले मानव अधिकार वर्ष पुस्तक हरेक वर्ष प्रकाशन गर्दै आएको उल्लेख गर्नु हुँदै मानव अधिकार उल्लंघनका घटना न्युनिकरण गर्न र मानव अधिकारको कानुनी सचेतना समुदाय तहसम्म पु¥याउन अनुरोध गर्नु भयो ।
कानुनी सचेतनाका लागि नेपाल बार एशोसिएशनले निःशुल्क रुपमा मानव अधिकार अभियानमा सहयो गर्ने र हाम्रो कानुन व्यवसायीहरुले अति विपन्न र दलित पीडितहरूलाई निःशुल्क रुपमा वकालत गर्न तयार रहेको बताउनु भयो । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले घटनाहरू दिनप्रतिदिन बढीरहेकोले यस घटनाहरूलाई न्यूनिकरण गर्नका लागि स्थानीय तहहरूसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो । वैदेशिक रोजगारमा दिनप्रतिदिन ठगी, किसानहरूको बिउबिजन, खाद्य मलको समयमा व्यवस्था नभएकोले यस विषयलाई पनि मानव अधिकारको वर्ष पुस्तकमा समावेश गर्न उहाँले आग्रह गर्नु भयो । सेफ नेपालका परियोजना संयोजक तथा मानव अधिकारकर्मी विनोद महराले पहिलाको तुलनामा मानव अधिकारको घटनाहरू कमी देखिएपनि सामाजिक र पारिवारिक घटनामा वृद्धि भएको बताउनु भयो ।
आप्रवासी कामदारको मानव अधिकार र जातीय छुवाछुत तथा सीमान्तकृत समुदायको हक हितका सवालमा मानव अधिकारकर्मीले बोल्नु पर्नेमा उहाँले जोड दिनु भयो । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले इन्सेकले पत्रकारहरूसँग पनि समन्वय गरी काम गर्न आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका अधिकृत दीपक ठाकुरले जनकपुरधाममा फोहर व्यवस्थापन नभएकोले मानिसहरू बिरामी भएको बताउनु भयो । शिक्षा र स्वास्थ्य तथा पर्यावरणको विषयलाई पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
पत्रकार वीरेन्द्र रमणले बलात्कारका घटनाहरूमा प्रभावकारी अनुसन्धान नहुँदा निर्दोष व्यक्तिहरू कानुनको दायरामा परेकोले सूक्ष्म रुपमा गहिरो अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भयो । सन्तोष कुमार यादव




