महोत्तरी- बर्दिवासमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको छ।
नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ द्वारा आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले संस्थापक नेता वीपी कोइरालाको तस्विरमा माल्यार्पण गरेका थिए।
कार्यक्रममा नेता बसन्त गुरुङ्गले कांग्रेस सदैव एकापसमा मेलमिलाप, सदभाव पार्टी भएको जिकिर गरे। उनले कांग्रेसभित्र मात्र नभएर समग्र मुलुकमा वीपीको योगदाण अविस्मरणीय रहेको उल्लेख गरे।



उनले हिंसामा विश्वास नराख्ने वीपीको राष्ट्रिय एकता तथा मेलमिलाप भावनाले सबैलाई एकसूत्रमा बाँधेको बताए।
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज को दिन मेलमिलाप दिवस मनाइने गरेको बर्दिवास नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेसका महासमिती सदस्य प्रह्लाद कुमार क्षेत्रीले बताए ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थी लगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।
भारत निर्वासनमा रहँदा कोइराला लगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्किएका हुन्। देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपी लगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्किएका हुन्।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरू गरेका थिए। राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो। विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो।
यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो। चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ।
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेखेका थिए। बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो।
कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिन्छन्। विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ।
यसैक्रममा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ ले बर्दिवासमा आज मेलमिलाप कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती महेश कुमार झाको सभापतित्व तथा महासमिती सदस्य बसन्त गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा कांग्रेस महोत्तरीका सभापती नागेश्वर यादब,महासमिती सदस्य चिरंजिबी हमाल,प्रह्लाद कुमार क्षेत्री, महाधिबेशन प्रतिनिधि अशोक कोईराला लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो




