
महोत्तरी - केहि दिन देखि चलेको शितलहरको कारण चिसो बढेपछि औरही नगरपालिकाका सबै विद्यालयहरु बन्द गरिएको छ। अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि बिहीबार देखि ५ दिनका लागि औरही नगरपालिकाका सबै विद्यालयहरुमा विदा दिइएकाे नगर प्रमुख प्रदीप कुमार खड्काले जानकारी दिए।
नगरपालिकाको शिक्षा अधिकृत धनबहादुर राईले आज एक सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गरि पुस २५ देखि २९ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा बिदा दिएको जानकारी दिएका छन् । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शाखा अधिकृत राईले बताए । त्यसैगरी औरही नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ ।

शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख खड्काले बताए। उनले नगरपालिकाको १ देखि ९ सम्मका वडामा दैनिक ज्याला मजदुरी गरी खाने टोल र सार्वजनिक स्थल र नगर भित्र रहेका बिभिन्न चौकहरूमा आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरेको जनाएको छ । तराई मधेसमा जोडा याममा शीतलहरको बेला गरिब विपन्नहरूको लागि शीतलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउरा वितरण गरिएको नगर प्रमुख खड्काले बताए ।

उनले नगरको ग्रामीण भेग बाहेक चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूलाई पनि असर परेको र बजारमा आउने यात्रुहरूलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए । नगर प्रमुख खड्काले चिसो समयभरि नै यसै गरी नगरले दाउरा वितरण गर्ने बताएका छन् ।
