बर्दिवास – मधेश प्रदेशका युवा वर्गहरूको व्यक्तित्व विकास र व्यावसायिक सीप सुदृढ गर्ने उद्देश्यले अनुरोध नेपालद्वारा आयोजित र एनसेल फाउन्डेस तथा ग्लोकलको सहकार्यमा ३ दिने आवासीय स्किल क्याम्प सिराहा, लहानमा सफलतापूर्वक सम्पन्न भएको छ। पुस २१ गतेदेखि १३ गतेसम्म भएको उक्त कार्यक्रममा विभिन्न छनौट प्रक्रिया पार गरी १८ देखि २५ वर्षका २३ जना मधेश प्रदेशका युवाहरूले यस कार्यक्रममा सहभागिता जनाएका थिए।
उक्त क्याम्पमा प्रभावकारी संवाद, सी.भी लेखन, रचनात्मक लेखन, नेतृत्व विकास, व्यवसाय योजना, साक्षात्कार तयारी, वित्तीय साक्षरता लगायतका महत्वपूर्ण सीपहरू सिकाइएका थिए। ३ दिने उक्त प्रशिक्षणमा प्रशिक्षित प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विभिन्न जीवनोपयोगी सीपहरू प्रदान गरेका थिए। कार्यक्रमका एक सहभागी, समिक्षा न्यौपानेले बताइन्, “यस कार्यक्रमले मलाई जीवनका लागि अत्यन्तै आवश्यक कुराहरू सिक्न मद्दत पुर्यायो।



हामीले स्कूलमा पढ्दा न सिकेका धेरै कुरा यहाँ सिक्न पाए” यस्तै, अर्को सहभागी राम कृष्ण भण्डारीले सञ्चार र नेतृत्वसम्बन्धी धेरै महत्वपूर्ण कुराहरू सिक्न पाएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे। त्यसैगरी कार्यक्रमको संयोजक रोजिना न्यौपानेले यस ३ दिने आवासीय प्रशिक्षणलाई अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्ने योजना रहेको बताइन्।




