
महोत्तरी - गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले ‘खिचडी यात्रा’ सुरु गरिएको अन्तराष्ट्रिय गौमाता सेवा महासङ्घका संयोजकका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिए ।

गोरखामा धार्मिक पर्यटकीय गतिविधि बढाउन, ‘गौ’ को संरक्षण गर्न, दुई देशको धार्मिक संस्कृतिलाई जोगाइ राख्न गोरखादेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म गत वर्षदेखि खिचडी यात्रा गर्न थालिएको उनको भनाइ छ ।

‘माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै यहाँस्थित गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेछ,’ उनले भने, ‘बीस वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।’

खिचडी यात्राबाट परम्पराको जर्गेनामा मद्दत पुग्ने उनको भनाइ छ । गोरखाबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा चढाइन्छ । उक्त यात्रामा महोत्तरीको मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डे, गण्डकी प्रदेशको राइनास नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर गुरुङ सहित ६० जना सहभागी रहेका छन् ।

यात्रामा सहभागीहरुले युपीको मुख्यमन्त्री योगीआदित्यनाथसँग समेत भेटघाट गरेका छन् । यात्रामा सहभागीहरुले मुख्यमन्त्री योगीलाई गोरखा गोरखपुर खिचडी यात्राको बारेमा जानकारी गराएका थिए ।
यता, मुख्यमन्त्री योगी आत्यिनाथले यस प्रकारका कार्यक्रमहरुले दुइ देशको धार्मिक र साँस्कृतिक एकता बढाउने, समाजमा सदभाव फैलाउँने र गौ माताप्रति सम्मान प्रकट गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो ।