
बलरा - विद्यालय व्यवस्थापन समिति गठनको विषयमा उत्पन्न विवादले तनाव सिर्जना हुँदा सर्लाहीको बलरास्थित एक विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
नगरपालिका कार्यालयले अभिभावक भेला नगरी पालिकाबाट सोझै व्यवस्थापन समिति गठन गरेर पठाएको भन्दै बलरा नगरपालिका–४, बलरा बजारमा रहेको रामसखी मोहित सिंह माध्यमिक विद्यालयमा तनाव उत्पन्न भएको हो । व्यवस्थापन समिति गठनकै विवादका कारण आज विद्यालयका विद्यार्थीले पठनपाठन बन्द गरी टायर बालेर प्रदर्शन गरेका छन् ।
विद्यार्थीले विद्यालयको केही थान डेक्सबेन्च सडकमा निकालेर आगजनी समेत गरेका छन् । घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुुगेर स्थिति नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बलरा नगरपालिका–४, का वडाध्यक्ष मनीभुुषण सिंहले आफ्नो वडाभित्रको विद्यालयका व्यवस्थापन समिति गठन गर्दा आफूलाई समेत कुनै जानकारी नगराइएको बताए । अभिभावक भेला बोलाएर व्यवस्थापन समिति गठन गर्नुपर्नेमा नगरप्रमुखको निर्देशनमा पालिकाबाटै समिति गठन गरेर पठाइँदा बिरोध भएको वडाध्यक्ष सिंहको भनाई छ ।
आन्दोलित विद्यार्थी तथा अभिभावकले नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले राजनीतिक चलखेल गरी आफू निकटका मानिसलाई राखेर विद्यालय व्यवस्थापन समिति गठन गराएको आरोप लगाएका छन् । व्यवस्थापन समिति गठनमा राजनीतिक गरेर तनावको अवस्था सिर्जना गरिएपछि विद्यालयको पठनपाठन अनिश्चित समयका लागि प्रभावित हुने देखिएको छ । नगरपालिकाले विद्यालयलाई पठाएको पत्रमा पुुस २८ गतेको निर्णय अनुसार सुनिल सिंहलाई विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको उल्लेख गरिएको छ । यस विद्यालयमा व्यवस्थापन समिति गठनका विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ ।-उज्यालो अभियान