धनुषा । धनुषाका १८ स्थानीय तहमध्ये १५ स्थानीय तहले कानुनले तोकेको समयसीमाभित्र नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन्। तर, मधेस प्रदेशको राजधानी समेत पर्ने जिल्लाको एकमात्र उपमहानगरपालिका रहेको जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले विभिन्न कारण देखाउँदै असार १० गतेभित्र नगरसभा सम्पन्न गर्न सकेनन्।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार धनुषाका अधिकांश पालिकाले समयमै प्रक्रिया पूरा गरेका हुन्।



धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन्। तीमध्ये गणेशमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनियाँ गाउँपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिकाले तोकिएको समयभित्र नगरसभा सम्पन्न गरेका छन्।
बजेट प्रस्तुत गर्ने पालिकामध्ये मिथिला नगरपालिकाले सबैभन्दा ठूलो ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। त्यस्तै, क्षीरेश्वरनाथ नगरपालिकाले ७८ करोड, सबैला नगरपालिकाले ७७ करोड ७ लाख ४१ हजार ६७० रुपैयाँ र शहीदनगर नगरपालिकाले ६५ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।
धनौजी गाउँपालिकाले ६० करोड ६५ लाख ५७ हजार रुपैयाँ, धनुषाधाम नगरपालिकाले ५७ करोड २० लाख ४ हजार रुपैयाँ र हंसपुर नगरपालिकाले ५५ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन्। नगराइन नगरपालिकाले ५४ करोड ७५ लाख ६१ हजार, मिथिला बिहारी नगरपालिकाले ५० करोड ३० लाख, जनकनन्दिनी गाउँपालिकाले ४६ करोड १६ लाख, लक्ष्मिनियाँ गाउँपालिकाले ४५ करोड ७४ लाख २४ हजार ४५० र बटेश्वर गाउँपालिकाले ४४ करोड ७० लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
त्यस्तै, औरही गाउँपालिकाले ३७ करोड २७ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
समयमै नगरसभा गर्ने पालिकामध्ये बटेश्वर गाउँपालिकाले असार २ गते नै नगरसभा सम्पन्न गरेको थियो। लक्ष्मिनियाँ गाउँपालिकाले असार ३ गते, क्षीरेश्वरनाथ नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाले पनि सोही दिन नगरसभा गरेका थिए। क्षीरेश्वरनाथले बजेट प्रस्तुत गरे पनि पारित हुन बाँकी रहेको जनाइएको छ।
धनुषाधाम नगरपालिकाले असार ५ गते नगरसभा गर्दै आगामी आवका लागि ५७ करोड २० लाख ४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। जनकनन्दिनी गाउँपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले असार ६ गते नगरसभा गरेका थिए।
मिथिला बिहारी नगरपालिकाले असार ८ गते नगरसभा सम्पन्न गरी ५० करोड ३० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। असार १० गते हंसपुर, धनौजी, शहीदनगर, सबैला, मिथिला, औरही र नगराइन नगरपालिकाले समेत बजेट प्रस्तुत गरेका हुन्।
यता, जनकपुरधाम उपमहानगरपालिकाले नगरप्रमुख जिल्ला बाहिर रहेकाले नगरसभा गर्न नसकेको जनाएको छ। विदेह नगरपालिकाले अघिल्लो आर्थिक वर्षको फर्छ्योट तथा प्रशासनिक जटिलतालाई कारण देखाएको छ भने कमला नगरपालिकाले चाँडै बैठक बसेर नगरसभाको नयाँ मिति तय गर्ने जनाएको छ।
धनुषाका अधिकांश स्थानीय तहले समयमै बजेट र कार्यक्रम सार्वजनिक गरे पनि तीन स्थानीय तहमा नगरसभा हुन नसक्दा ती पालिकाका आगामी आर्थिक वर्षका योजना तथा बजेट कार्यान्वयनमा असर पर्न सक्ने देखिएको छ।




