जनकपुरधाम। सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।



फेसबुकमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताए ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा गालीगलौज तथा अभद्र व्यवहार गरेको विषयमा यादवमाथि अनुसन्धान भइरहेको छ । राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने क्रम बढिरहेका बेला रास्वपा नेताको पक्राउलाई स्थानीयस्तरमा चासोका रूपमा हेरिएको छ ।





