
जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले धार्मिक पर्यटन (रिलिजियस टुरिजम)मा प्रचुर सम्भावना रहेकोले नेपाल सरकारले पर्यटकहरुका लागि ठोस नियम कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ। जनकपुरधाममा मंगलवार सम्पन्न इन्डो नेपाल टुरिजम सम्मिट २०२५ मा मुख्यमन्त्री सिंहले भारतको महाकुम्भ र साउदीको मक्का मदिनका उदाहरण दिँदै पर्यटन क्षेत्रको विकास प्रभावकारी ढंगले गर्न सके देशको जीडिपीमा ठूलो मदत पुग्ने जनाउनुभयो ।
मुख्यमन्त्री सिंहले विदेशी पर्यटकहरुलाई दिनको १५० देखि २०० डलरसम्म खर्च गर्नुनै पर्ने गरि नियम कानुन सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुलाई विशेष सुविधा उपलब्ध गराउनुु पर्ने बताउँदै उहाँले अहिले लाखौं नेपाली महाकुम्भमा स्नान गर्न भारत गएको जानकारी दिँदै भारतबाट पनि पर्यटक र श्रद्धालुलाई जनकपुरधाम आउनु पर्ने भनेर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल भारतबीच पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ भारतीय दुतावास, वीरगञ्ज र पीएचडीसीसीआई इन्डिया नेपाल सेन्टरको आयोजनामा आयोजित उक्त सम्मिट कार्यक्रममा भारतीय महावाणिज्यदुतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिनाले भारत नेपालबीचको पौराणिक र इतिहासिक सम्बन्ध रहेकोले दुबै देशमा पर्यटनको सम्भावना प्रचुर रहेको बताउनुभयो । उहाँले भारत र नेपालमा पर्यटनको अपार सम्भावनालाई मध्येनजर गर्दै दुबै देशले मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
दुबै देशको इतिहास र संस्कृति महत्वपूर्ण सम्पक्ति रहेको धारणा राख्दै उहाँले यसलाई अझ मजबुत बनाउन सके दुबै देशबीचको सम्बन्ध थप मजबुत हुनुका साथै आर्थिक रुपमा सबल बन्न सकिने बताउनुभयो । उहाँले कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पर्यटन विकासका लागि राखेका आफ्ना अनुभव र विचारले सीमा क्षेत्रको पर्यटन विकासका साथै दुबै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा, होटल व्यवसायी संघका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी, साहित्यकार, भाषावीद लगायत पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीसंग आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।