
जनकपुरधाम - ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिमका साथ आज (बिहीबार)देखि तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण जनकपुरधाममा सुरु हुँदैछ ।
नवमिथिला फाउन्डेसनको आयोजनामा यही आजदेखि शनिबारसम्म चल्ने यस महोत्सवमा साहित्यिक विमर्श, सामाजिक, आर्थिक र राजनीतिक बहसका कुरा समेटिने छन् ।
मिथिला सभ्यता र संस्कृतिको धरोहर जनकपुरधामलाई विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बनाउने उद्देश्यले साहित्य उत्सव गर्ने लागिएको आयोजकले बताएका छन् ।
महोत्सवमा १४ वटा प्यानलमा छलफल र तीनवटा एकल प्रवचन समावेश गरिएका छन् । जसबाट साहित्यको सीमाना मात्र नभई समाजका विविध आयामलाई उजागर गरिने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।
महोत्सवको उद्घाटन कार्यक्रममा लेखक सीके लालले विद्वत् प्रवचन गर्नेछन् । यससँगै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘उज्यालोको यात्रा’मा आफ्नो अनुभव बाँड्ने छन् भने भारतका लेखक सुवोधचन्द्र भारतीयले ‘सीता र रोटीबेटीको सम्बन्ध’ विषयमा विचार राख्नेछन् । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ‘आन्दोलन र साहित्य’मा आफ्नो विश्लेषण प्रस्तुत गर्नेछन् ।
यस्तै ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ सत्रमा पत्रकार सुधीर शर्मा, लेखक तुलानारायण साह र इन्द्र अधिकारीको सहभागितामा गहिरो बहस हुनेछ, जसको पत्रकार अनिल गिरीले सहजीकरण गर्नेछन् ।
‘नेपाली उद्यमीको यात्रा’मा उद्योगपति सौरभ ज्योति, सुलभ बुढाथोकी र असिममान सिंहले आफ्ना अनुभव साझा गर्नेछन् भने ‘आनन्दको खोजी’ सत्रमा पत्रकार घनश्याम खड्का र समा थापाबीच विचार विमर्श हुनेछ ।
महोत्सवमा जनकपुरका चुनौती र अवसरहरू, डिजिटल युगमा पठन संस्कृति, क्रिकेट : समस्या, समाधान र सम्भावना, मधेस महिमा : उद्यमको व्यावसायीकरण, नीतिमा युवाको चासो लगायत विषयमा बहस हुने फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए । जसले साहित्य, कला, संस्कृति र सामाजिक विषयहरूमा गहिरो संवादको ढोका खोल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
यसैगरी, महोत्सवको उद्घाटन समारोहमा जनकपुरका १० विद्यालयका ६० जना विद्यार्थीले सामूहिक रूपमा ‘इएह छी हमर जनकपुर’ गीतमा कोरस प्रस्तुति गर्नेछन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्ने आयोजकको भनाइ छ ।
फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले यो महोत्सव केवल साहित्यिक उत्सव नभएर जनकपुर र मधेसको सामाजिक, आर्थिक र सांस्कृतिक चेतनाको प्रतिविम्ब रहेको बताए । ‘विचारहरूको आदान–प्रदान र नयाँ सोचको विकास यहीँबाट सुरु हुन्छ,’ उनले भने ।
यस्तै, उपाध्यक्ष नेपालले यस वर्षको अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कर स्वर्गीय गुरुदेव कामतको नाममा उनका परिवारलाई दिइने पनि जानकारी दिए ।साहित्य महोत्सवको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्ने आयोजक संस्थाले जनाएको छ ।