महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ड्युटीमा रहेका एक प्रहरी सहायक निरीक्षक(असइ)को मृत्यु भएको छ। जिप्रका महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका असइ सुरेन्द्र राम चमारको मृत्यु भएको हो । ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकाे थियाे ।
पछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । बुधवार साँझ ५ बजे उनलाई श्वास लिन असहज भएको थियाे । साँझ ६:१५ मा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मधुमेह तथा ब्लड प्रेसर रोगबाट पीडित रहेका असइ चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआर सहितको कृत्रिम माध्यमले अक्सिजन पुर्ति गर्ने प्रयास गरेपनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले बताए ।



२३ वर्ष १० महिना ८ दिन प्रहरीमा सेवा गरेका असइ चमार ७ महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी आएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाउने तयारी भैरहेको डिएसपी जयसवारले बताए ।
उनले असइ चमारको निधनले प्रहरी संगठनलाई अपुरणीय क्षति भएको बताए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठो छोरा बैदेशिक रोजगारीमा छन् भने छोरीको बिहे भैसकेको र अर्को छोरा अध्ययनरत छन् ।




