
महोत्तरी - औरही नगरपालिकाले नगरका अति बिपन्न घरपरिवारलाई जाडोबाट बच्न न्यानो सिरक वितरण गरेको छ । नगरपालिकाकाले बिहिवार एक कार्यक्रमका बीच वडा १ देखि ९ सम्मका अतिविपन्न घर परिवारहरुलाई पहिचान गरि न्यानो सिरक वितरण गरेको हो ।
बढ्दो चिसो तथा शितलहरलाई मध्यनजर गरी विपन्नलाई राहत स्वरुप प्रत्येक वडामा नगरपालिकाबाट कर्मचारी खटाई अतिबिपन्नहरु लाई पहिचान गरि डाटा संकलन गरी ७ सय ७० थान फाईबरको सिरक वितरण गरेको हो ।

औरही नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार खड्काका अनुसार नगरमा रहेका अति बिपन्न घरपरिवारहरुका लागि ७ सय ७० थान फाईबरको सिरक आजबाट निष्पक्ष रुपले वितरण गर्ने कार्य शुभ आराभ्म भएको जानकारी दिए।
नगरप्रमुख खड्काले विपतबाट बच्नको लागि गरिब अतिबिपन्न घरपरिवारलाई सिरक वितरण गर्ने अभियान संचालन गरिएको बताए। ‘वडा भित्र धेरै आर्थिक अवस्था नाजुक भएका परिवार रहेका छन्,’ उनले भने ,‘आर्थिक अवस्था नाजुक भएको घरपरिवार छनौट गरि जाडोमा सिरक बितरण गरिएको हो ।’ नगरपालिकाको कार्यालयले प्रत्येक वर्ष जाडोमा यहाँका स्थानियलाई न्यानो सिरक बितरण गर्दै आएको छ ।

यस भन्दा अगाडीका वर्षमा पाईसकेका परिवारलाई र अरु संघ सस्थाबाट पाईसकेका परिवारलाई पहिचान गरि न्यानो सिरक वितरण गरिएको छ। केहि दिन अगाडी पालिकामा नेपाली सेनाको गोरखनाथ गणले दोस्रो चरणमा ३२० थान कम्बल वितरण गरिएको थियो भने,सेभ द चिल्ड्रेन १०० थान कम्बल वितरण गरिएको थियो।

कार्यक्रममा औरही नगरपालिका कार्यालयका जिन्सी शाखा प्रमुख लक्ष्मण तामाङ, प्राबिधिक शाखाका मनिष यादव लगायत जनप्रतिनिधि तथा वडाका सचिवहरुको उपस्थिति रहेको थियो ।










