
जनकपुरधाम- जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचार प्रसार गर्ने उद्देश्यले शुरु भएको जनकपुर साहित्य उत्सवको दोस्रो दिन पनि विभिन्न विषयमाथी गहन छलफल तथा विमर्ष भएको छ । आजको विभिन्न सत्रहरुमा समेत सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथी छलफल हाे ।
उत्सवको दोस्रो दिनको सत्र ‘जनकपुरधामक चुनौती आ अवसर' , 'डिजिटल युगमा पठन संस्कृति' , 'क्रिकेटः समस्या समाधान र सम्भावना', 'मधेस महिमाः उत्सवको व्यवसायीकरण, पढाई सिकाई र वैज्ञानिक सोच', 'नितिमा युवाको चासो' र 'नेपालको परराष्ट्र नीति र सिमाञ्चल' लगायतका विषयमा छलफल भएकाे छ। उत्सवको दोस्रो दिनको पहिलो सत्रमा ‘जनकपुरधामक चुनौती आ अवसर’ विषयक बहसमा वक्ताहरूले जनकपुरधामको समग्र विकासका लागि आवश्यक कदमहरूबारे चर्चा गरेका छन् । वक्ताहरूले जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वलाई विशेष जोड दिँदै हालका चुनौतीहरूको समाधानमा गहिरो छलफल गरेका हुन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् जनकपुरधामका पूर्व नगर प्रमुख वृषेश चन्द्र लालले जनकपुरधामको प्राचीन महत्वलाई पुनस्र्थापित गर्न वर्तमान समयमा आवश्यक संरचनात्मक सुधार र दीर्घकालीन योजना अपरिहार्य भएको बताए । उनले जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउन सक्षम रहेको तर्क गर्दै सहरको आधारभूत संरचनामा सुधार गर्नुपर्नेमा जोड दिए । ‘जनकपुरधामलाई एक अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामीले पूर्वाधारहरूमा लगानी गर्नुपर्नेछ,’ उनले भने ।
त्यसैगरी, जनकपुरधामका पूर्व नगर प्रमुख बजरंग प्रसाद साहले सहरको आर्थिक र सामाजिक विकासका लागि राजनीतिक इच्छाशक्ति र एकीकृत प्रयास आवश्यक भएको बताए । उनले सहरभित्र शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न लामो समयदेखि अवरोध भइरहेका परियोजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्नेमा जोड दिए । ‘विकासका लागि स्थानीय प्रशासनको सशक्त भूमिका हुनु आवश्यक छ । यसले हाम्रा जनताका आवश्यक्ता र आकांक्षालाई सम्बोधन गर्छ,’ साहले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका वर्तमान नगर प्रमुख मनोज कुमार साहले पनि सहरको सम्भावनालाई उजागर गर्दै हालको अवस्था सुधार्न आफू प्रतिबद्ध रहेको बताए । उनले सहरको विकास योजनामा जनसहभागिता र सरकारी निकायबीचको सहकार्यलाई प्रोत्साहन गर्दै जनकपुरधामको समृद्धि सुनिश्चित गर्नुपर्ने तर्क गरे । ‘जनकपुरधामको भविष्य उज्ज्वल छ । तर, यसका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ,’ साहले भने ।
सत्रको सहजीकरण पत्रकार मनिका झाले गरेकी थिइन् । दोस्रो सत्रमा ‘डिजिटल युगमे पठन–संस्कृति’ विषयमा भएको गहन छलफलले डिजिटल प्रविधिले पठन संस्कृतिमा आएको परिवर्तन, चुनौती र सम्भावनाबारे बहस गरिएको थियो । सो सत्रमा मधेश प्रदेशसभाका प्रदेशसभा सदस्य रामअशिष यादव, अर्थशास्त्री डा. सुरेन्द्र लाभ र शिक्षाविद् डा. मंचला झाले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए । यो सत्रको पत्रकार सुजीतकुमार झाले गरेका थिए । प्रदेशसभा सदस्य रामअशिष यादवले आफ्नो भनाइ राख्दै डिजिटल युगले पठन संस्कृतिमा व्यापक प्रभाव पारेको बताए ।

उनले प्रविधिले सूचनामा पहुँच सहज बनाए पनि यसले पठन संस्कृतिलाई विकेन्द्रित गर्दै केही हदसम्म मानवीय ध्यान र एकाग्रता कमजोर पारेको बताए । ‘इन्टरनेटको सहज पहुँचले युवा पुस्तालाई सतही जानकारीमा सीमित गराइरहेको छ,’ उनले भने, ‘तर यो प्रविधि सही ढंगले उपयोग गरेमा गहिरो ज्ञान हाशिल गर्न सकिन्छ ।’ डा. सुरेन्द्र लाभले डिजिटल पठनको आर्थिक पक्षमा जोड दिँदै यसले किताब, पत्रिका र छापिएको सामग्रीको माग घटाएको र डिजिटल सामग्रीको बढ्दो प्रयोगले व्यापारिक ढाँचामा परिवर्तन ल्याएको बताए। ‘प्रविधिले ज्ञान सुलभ भएको छ ।
तर, यसले सूचना र ज्ञानको गहिराईमा खलल पुर्याएको छ,’ उनले भने । ‘डिजिटल सामग्रीले पठन संस्कृतिमा ठूलो बदलाव ल्याए पनि सशक्त पाठकीय बानीको विकास गर्न अझै चुनौती छ ।’ डा. मंचला झाले डिजिटल युगमा पठन–संस्कृतिलाई बचाई राख्न शैक्षिक प्रणाली र पाठ्यक्रममा सुधार आवश्यक रहेको बताइन् । उनले शिक्षण विधिमा डिजिटल प्रविधिको समावेश गराउनुपर्ने र विद्यार्थीहरूलाई अझ गहिरो अध्ययनमा रुचि बढाउने तरिकाहरूको खोजी गर्नुपर्ने बताइन् । ‘डिजिटल प्रविधिले पठनलाई सजिलो र सुलभ बनाएको छ ।

तर, यसले अध्ययनको गहिराइमा ह्रास आएको हो कि भन्ने चिन्ता बढ्दो छ,’ उनले भनिन् । वक्ताहरूले पठन संस्कृतिको प्रवद्र्धनका लागि डिजिटल साधनको विवेकपूर्ण प्रयोग गर्नुपर्ने र शिक्षालाई प्रविधिसँग मिलाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै तेस्रो सत्रमा ‘क्रिकेट ः समस्या समाधान आ सम्भावना’ शिर्षकमा एक महत्त्वपूर्ण सत्र सम्पन्न भएको छ । यस सत्रमा नेपाल क्रिकेटको हालको स्थिति, चुनौतीहरू र भविष्यको सम्भावनाहरूलाई केन्द्रबिन्दुमा राखेर गहन छलफल गरिएको हो ।

उक्त सत्रमा नेपाल क्रिकेट संघका पूर्व कार्यकारी अधिकृत भावना घिमिरे, केन्द्रिय कार्यसमिति सदस्य सुदिप शर्मा र विराटनगर किंग्सका लगानीकर्ता सुयश प्याकुरेलले आफ्ना विचार व्यक्त गरे । आजै कविता वाचन प्रतियोगिता तथा कविता साँझ संगै दोस्रो दिनका सत्रहरु समाप्त हुनेछन् ।