
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक राजधानी जनकपुरधाम स्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिनुभयो । प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह र मन्त्रालयका अधिकारीहरूसहित नौवटा अस्पतालमा पुगेर उहाँले अनुगमन गर्नुभयो ।
मुख्यमन्त्री सिँहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरे ।
अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल,जनकपुर मोडल हस्पिटल जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएको छ। ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
यस्तै ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।
आइतवारबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसिटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो । बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसिटिभी फुटेज सहित बोलाइएको ठाकुरले बताउनुभयो ।
मुख्यमन्त्री सिँह एम्बुलेन्स चालक बनेर फोन संवाद गरे
चर्को कमिसनपछि मात्र एम्बलेन्स चालकलगायत दलालले बिरामी पठाउने र त्यस स्तरको रकम मापदण्डअनुसारका सेवासुविधा दिने अस्पतालले दिन नसक्ने भएपछि अस्पताल सञ्चालनमै कठिनाइ हुँदैआएको वैध अस्पताल सञ्चालकहरूले गुनासो गर्दैआएका बेला मुख्यमन्त्री सिँह एम्बुलेन्स चालक बनेर एक निजी अस्पतालका सुरक्षागार्डसँग फोन संवाद गरेको भिडियो सार्वजनिक भएको छ ।
मुख्यमन्त्री सिँहले सरोज नाउँ गरेको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै आफूले मोटो रकम तिर्ने बिरामी लिएर आएको बताएपछि अस्पतालका सुरक्षागार्डले चेकिङका कारण जनकपुर मोडल अस्प्ताल आइतबार १२ बजे बन्द भएकाले नजिकका गोदावरी अस्पतालमा बिरामीलाई लैजान सल्लाह दिएका थिए । एम्बुलेन्स चालकको परिचयका साथ कुरा गरिरहेका मुख्यमन्त्री सिँहले गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने प्रश्न गर्दा ती सुरक्षागार्डले त्यस विषयमा कुराकानी गर्नुपर्ने बताएको भिडियोमा सुन्न पाइन्छ ।
भिडियोमा सुरक्षागार्डले बोलका वाक्यमा सरकारी टोलीको अनुगमनपछि गलत तरिकाले अस्पताल सञ्चालन गर्नेमा ठूलो भय र त्रास छाएको स्पष्ट सुन्न सकिन्छ ।
जनकपुर मोडल अस्पताललगायतका निजी अस्पतालले एम्बुलेन्स चालकलाई बिरामी ल्याएबापत बिरामीको आर्थिक अवस्थाअनुसार कमिसन दिनेगरेको पुष्टि हुने सो भिडियो यतिबेला भाइरल बनेको छ ।