महोत्तरी – नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलनको पहिलो दिन खुला सत्रको रुपमा एकडारा गाउँपालिकाको भटोलियामा सम्पन्न भएको छ ।
महोत्तरी क्षेत्र नं. ३ का क्षेत्रिय सभापति राघबेन्द्र झाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा डा. शेखर कोइरालाको प्रमुख आतिथ्यता रह्यो । झण्डै दश हजार काँग्रेसी नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको उपस्थिति रहेको भटोलिया सम्मेलनमा धनुषा, सर्लाहीबाट पनि बिभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।




सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा. शेखर कोइरालाले हरेक दुईदुई महिनामा सरकार परिवर्तन हुने अवस्था आएपछि राजनीतिक स्थायित्वका लागि एमालेसँग मिल्न बाध्य भएको बताए । उनले भने, ‘स्थायित्वका लागि संविधानमा केही सुधार गर्नुपर्छ भन्ने लागेर एमालेसँग मिलेर सरकार बनाएका छौं । त्यो सरकार अहिले चल्दैछ, तर अपेक्षा गरेअनुसारको काम हुनसकेको छैन । अब ढिलो नगरी संविधानको सुधारको अन्य दलसँग सहकार्य गरेर अगाडि जान आग्रह गरे ।’उनले १५ औं महाधिवेशन एक वर्षभित्र नहुने संकेत देखिएको भन्दै नेतृत्वलाई दबाब दिन नेता कार्यकर्तालाई आग्रह गरे । नेता कोइरालाले क्षेत्र नं. ३ का कार्यकर्ताहरुलाई ढाडस दिँदै भने, ‘तपाईंहरु यहाँबाट जाँदा ढुक्क भएर जानुस् । तपाईंहरु कसैको डर, धाक धम्कीबाट नडराउनुस् । तपाईंहरुको राजनीतिक संरक्षण म गर्छु । अन्याय हुन नदिने बाचा म गर्छु । म पक्कै गर्छु ।’

त्यसैगरि, पूर्व सांसद, केन्द्रिय सदस्य एवं नेपाली काँगे्रसका वर्तमान महासमीति सदस्य रामचन्द्र तिवारीले त्रिणमूल जनताको जीवनचक्रसँग प्रत्येक्ष सरोकार भएको मुद्दाहरु राज्यद्वारा अहिलेसम्म सम्बोधन हुन नसकेको दुखेको पोख्दै वर्तमान समयमा जसरी बिभिन्न सहकारी एवं लघुवित्तका संचालकहरुले निमुखा महिलाहरुमाथि वित्तीय अत्याचार गरिरहेको छ त्यसको अन्त्य गर्न नेपाली काँग्रेसले ठोस पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए । पछिल्ला दुई निर्वाचन देखि कथित मधेशवादी दलको हिस्सामा पर्दै आएको महोत्तरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसले आफ्नो हकलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस ‘इनकलाब’मा विश्वास गर्ने पार्टी हो । इन्कलाब अर्थात पूर्ण परिवर्तन । महोत्तरी काँग्रेस सम्धी र सम्धीनीको लागि राजनीति गर्ने क्षेत्रिय पार्टी वा नेतालाई आफ्नो परिवर्तनकारी मत दिन कदापी बाध्य रह्न सक्दैन भन्दै नेपाली काँग्रेसकेन्द्रको ध्यानाकर्षण समेत गराएका थिए ।
कृषिमा आधारित मधेशको जीवन र जीविका सुधार्न कृषिमा देखिनुपर्ने आवश्यक सुधार नआउनु दुःखद मात्र नभइ, चिन्ताजनक विषय रहेको भन्दै काँगे्रस नेता बजरंग नेपालीले नेतृत्वको ध्यानाकर्षण गराए । काँग्रेसमहाधिवेशन प्रतिनिधि रहेका नेता नेपालीले पनि महोत्तरी जिल्ला र खासगरि क्षेत्र नम्बर ३ केन्द्रको गुलामी गर्ननसक्ने भनी बुलंद आवाज राखेका थिए।
हो, २०७४ को आम निर्वाचन देखि पछिल्लो निर्वाचनसम्म महोत्तरी क्षेत्र नं. ३ जसरी गठबन्धनको नाममा मधेशवादी दलको जिम्मा लगाइएको छ त्यसमा सबै नेताहरुको बिरोधको स्वर नै सुनिएको थियो । नेपाली काँग्रेस माहोत्तरीका सभापति नागेश्वर यादवले महोत्तरी क्षेत्र नं. ३ महन्थ ठाकुरको जिम्मा नै लगाइएको जस्तो उदेक लाग्दो परिस्थितीको अन्त्य हुनैपर्ने भनी जोडदार माग उठाएका थिए ।
काँग्रेस केन्द्रिय सदस्य राजीव कोइराला, डा. चन्द्रमोहन यादव, महाधिवेसन प्रतिनिधि नरेन्द्र मिश्रले डा. शेखर कोइरालालाई नेपाली काँगे्रसको ‘प्रेसिडेन्ट इन वेटिङ्ग’ अर्थात १५ महाधिवेशनबाट काँग्रेसको सभापति बन्ने निश्चितप्रायः रहेको भनी उच्च मनोबल प्रकट गरेका थिए ।
त्यसैंगरी, मधेश प्रदेशलाई नेपाली काँग्रेसको आधार किल्लाको रुपमा चित्रित गर्दै मधेश प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति विरेन्द्र सिंहले, यदि मधेश प्रदेशका निर्वाचन क्षेत्रहरुलाई केन्द्रिय नेतृत्वले ‘बँटैया’ (गठबन्धको नाममा बाँडीचुँडी खाने) नलाउने हो भन्ने मधेश प्रदेशमा स्थानीय देखि प्रादेशिक एवं संघीय– सम्पूर्ण क्षेत्रमा नेपाली काँग्रेसले आफ्नो किल्ला गार्न समर्थ रहेको भनी उद्घोष गरेका थिए ।
बिभिन्न पार्टी परित्यागगरि झण्डै चार सय जनाले नेपाली काँग्रेस प्रवेश समेत गरेका छन् ।




