
जलेश्वर - मिथिला माध्यमिकी परिक्रमा आज जलेश्वर पुगेको छ । जलेश्वर नगरपालिका, उद्योग बाणिज्य संघ तथा स्थानीय क्लवहरु यात्रीहरुलाई स्वागतमा लागेका छन् ।
मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा गत बिहीबार सुरु भई आज जलेश्वर पुगेको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो ।
धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ ।
पडावस्थलमा दिन परिक्रमा मेलाको परम्परा रहँदै आएको छ । यात्रामा सहभागी हुन नसकेका सर्वसाधारण आफ्नो ठाउँमा आइपुगेको श्रीराम र सीताजीका प्रतिमा राखिएका डोलाको दर्शन गरेर पुण्यको कामना गर्छन् । मेलामा हजारौँ सर्वसाधारणको सहभागिता हुने हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त स्थानीय स्वयंसेवक परिचालन गर्ने गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले जानकारी दिए ।
महोत्तरीमा पर्ने रात्रि विश्रामस्थलहरु मटिहानी, जलेश्वर, महोत्तरी, बलवा र भङ्गाहासहित पाँचवटै स्थानीय तहमा यात्रीको सुविधा प्रबन्धका लागि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, व्यापारी र सर्वसाधारण समन्वय गरिरहेका छन् ।
नेपालतर्फ महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको कुल एक सय ३३ किलोमिटर वृतभित्र माध्यमिकी यात्रा गरिन्छ । जसमध्ये नेपालतर्फ एक सय सात किलोमिटर र भारततर्फ २८ किमी दूरी रहेको छ ।