
धनुषा-विदेह नगरपालिका – धनुषाको विदेह नगरपालिकामा सीमा क्षेत्रमा खटिएको शस्त्र प्रहरीले स्थानीय जनतालाई किनमेल गर्न नदिएपछि स्थानीयस्तरमा असन्तोष चुलिएको छ। सीमा क्षेत्रमा तैनाथ शस्त्र प्रहरीको गतिविधिप्रति विरोध जनाउँदै स्थानीय जनप्रतिनिधि तथा सयौं स्थानीय बासिन्दाले नाराबाजी गरेका छन्।
विदेह नगरपालिकाका मेयर बेचन दासका अनुसार, शस्त्र प्रहरीका डिएसपी आए देखि घरायसी आवश्यकताका लागि पनि सीमापार जान नदिने गरेको र गाउँमा मात्रै तैनाथ रहेको प्रति स्थानीय आक्रोशित भएका छन्। हाल गाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ, जसलाई स्थानीय बासिन्दाले अनावश्यक निगरानीको रूपमा लिएका छन्।विरोध प्रदर्शनका क्रममा मेयर दासले चेतावनी दिँदै भने, “यदि सिसिटिभी हटाइएन भने मशाल जुलुस निकाल्नेछौं।” उनका अनुसार, सीमावर्ती क्षेत्रका बासिन्दाहरू परम्परागत रूपमा सम्मान, भोजभतेर लगायतका गतिविधिका लागि सीमापार किनमेल गर्न जाँदै आएका थिए। तर, हाल शस्त्र प्रहरीका डिएसपी कडाइका कारण जनतालाई अनावश्यक सास्ती भएको उनले बताए।
स्थानीय वडाध्यक्ष तथा सयौं स्थानीयको सहभागितामा भएको प्रदर्शनमा सरकारको नीतिको आलोचना गर्दै सीमा क्षेत्रमा सहज आवागमनको माग गरिएको छ। स्थानीय बासिन्दाहरूले आफ्नो परम्परागत जीवनशैलीलाई निरन्तरता दिन पाउनु पर्ने र शस्त्र प्रहरीले अनावश्यक हस्तक्षेप नगर्नु पर्ने माग राखेका छन्।
प्रदर्शनका क्रममा ‘सिसिटिभी हटाऊ१’, ‘स्थानीयलाई दुःख दिन पाइँदैन’ जस्ता नाराहरू लगाइएका थिए। स्थानीय प्रशासनले भने सुरक्षाको कारण देखाउँदै सिसिटिभी जडान गरिएको र सीमा क्षेत्रमा कडाइ गरिएको बताएको छ।स्थिति नियन्त्रणमा राख्नका लागि प्रशासन र स्थानीय प्रतिनिधिबीच वार्ता प्रयास भइरहेको छ।